काठमाडौं । सरकारले नेपालमा अवैध रुपमा बसेका ६७ जना विदेशी नागरिकलाई निष्काशन गरेको छ । वर्तमान सरकार गठन भएयताको एक महिने अवधिमा सो संख्याका विदेशीहरूलाई देशबाट निकालिएको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।
आफ्नो एक महिने प्रगति विवरण सार्वजनिक गर्दै मन्त्री अर्यालले भनेका छन्, ‘अध्यागमन विभागको सक्रियतामा भिसाको विपरित नेपालमा बसेका र ओभरस्टे बसेका विभिन्न मुलुकका ६७ जना विदेशी नागरिकहरुलाइ निष्काशन गरिएको, र अवैध र कानून विपरित रहेका र बसेकाको खोजी कार्य भईरहेको।’
यस्तै, उनले अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको पनि बताएका छन् ।
नेपालीपोर्टमा आगमन र प्रस्थानको कायम गर्ने गरी अध्यागमन जाँचपासलाई नतिजामूलक र प्रभावकारी बनाइएको बताएका छन् ।
यो अवधिमा सुरक्षा मापदण्डको यथार्थ कार्यान्वयन गरिएको उल्लेख गर्दै मन्त्री अर्यालले पूर्व पदाधिकारीका लागि मापदण्ड विपरीत खटाइएका ४७७ जना (नेपाल प्रहरी तर्फ ३६६, सशस्त्र प्रहरी बल नेपालतर्फ १११ जना) प्रहरी कर्मचारीहरू फिर्ता बोलाइएको जानकारी पनि दिएका छन् ।
यस्तै, नेपाल नागरिकता नियमावली (चौथो संशोधन) को प्रारम्भिक मस्यौदा तयार गरिएको, अपराधको अनुसन्धान एवम् विचाराधीन मुद्धाहरूको कारवाहीलाई तीव्रता दिइएको, विभिन्न कसुरमा संलग्न भई अदालतबाट फरार घोषित १६१ जना कसूरदारहरूलाई पक्राउ गरिएको, जेनजी आन्दोलनमा लुटिएको बाहेक ५ नाल भरुवा बन्दुक तथा विभिन्न हतियारको गोली २ राउण्ड सहित २ जना व्यक्तिहरूलाई पक्राउ गरिएको उनले जनाएका छन् ।
यसैगरी २०८२ भदौ २३ र २४ गतेको घटना पश्चात् कारागार र बाल सुधार गृहबाट १४,५५६ (चौध हजार पाँच सय छपन्न) जना कैदीबन्दीहरू फरार भएकोमा हालसम्म ९,२१९ (नौ हजार दुई सय उन्नाइस) जना फिर्ता ल्याइएको, बाँकीको खोजी कार्यको लागि समिति निर्माण गरी खोजी कार्य तीब्र पारिएको गृहमन्त्रीले उल्लेख गरेका छन् ।
जेनजी आन्दोलन पश्चात् विभिन्न प्रहरी एकाइहरूबाट फरार १,५०५ थुनुवाहरू मध्ये हालसम्म ३५१ जना पक्राउ गरिएको छ ।
उक्त आन्दोलनको क्रममा हराएका र लुटिएका ५९४ थान हतियार फिर्ता ल्याइएको जसमध्ये नेपाल प्रहरी तर्फ ५६३, (सशस्त्र प्रहरी बल नेपाल एपीएफ तर्फ ३१) हातहतियार ल्याइएको छ ।
चालू आर्थिक वर्षको आश्विन महिनामा रु। १० करोड ४ लाख ५१ हजार १ सय ३४ बराबरको अवैध चोरी, निकासी तथा पैठारीका मालवस्तुहरु बरामद गरी आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा बुझाएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट रु ७५,२०,२८१ बराबरको सुन बरामद गरी कानूनी कारवाहीको लागि बुझाइएको गृहमन्त्रीको प्रगति विवरणमा उल्लेख छ ।