काठमाडौँ । जेनजी आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको आगजनीका कारण जलेर नष्ट भएका उत्तरपुस्तिकाको पुनः परीक्षा सञ्चालन गर्ने निर्णय गरिएको छ।
प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सीटीईभीटी) परीक्षा नियन्त्रण कार्यालयले डिप्लोमा, प्रमाणपत्र र प्रि-डिप्लोमा तहका स्थगित तथा नष्ट भएका परीक्षाहरूका लागि नयाँ परीक्षा लिने निर्णय गरेको हो।
शुक्रबार जारी गरिएको सूचनामा परीक्षा नियन्त्रण कार्यालयले परीक्षाफल सुरक्षित राख्न प्रहरी कार्यालयहरूमा राखिएका उत्तरपुस्तिकाहरू देशभर फैलिएको विषम परिस्थितिका कारण आगजनीमा परी नष्ट भएको उल्लेख गरेको छ।
परीक्षा समितिको असोज १० गतेको निर्णयअनुसार, स्थगन गरिएका परीक्षा मंसिर ३० गतेदेखि सञ्चालन हुने भएका छन्। त्यस्तै, जलेर नष्ट भएका उत्तरपुस्तिकाहरूको पुनः परीक्षा मंसिर ४ गतेदेखि सुरु हुने परिषद्ले जनाएको छ।
परीक्षाहरू बिहान ७ बजेबाट सुरु हुने र विस्तृत परीक्षा तालिका परिषद्को वेबसाइटमा उपलब्ध रहेको जानकारी सूचनामा उल्लेख गरिएको छ।
यसअघि परिषद्ले आगजनीका कारण नष्ट भएका उत्तरपुस्तिकाहरूको विस्तृत विवरण पनि सार्वजनिक गरिसकेको छ।