काठमाडौँ । नेकपा एमालेको दशौँ केन्द्रीय कमिटी बैठक आज (बुधबार)देखि सुरु हुँदैछ। बैठक बिहान ११ बजे ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा बस्ने एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
तीन दिनसम्म चल्ने बैठकको सुरूआतमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक घटनाक्रम समेटिएको राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम रहेको छ। बैठकमा आसन्न राष्ट्रिय महाधिवेशनको तयारी, पार्टी संगठन सुदृढीकरण र सरकारसँगको सम्बन्धबारे पनि छलफल हुने गौतमले बताए।
गौतमका अनुसार एमालेले संविधानको लोकतान्त्रिक गणतान्त्रिक पक्षधर शक्तिहरूसँग सहकार्य गर्दै संसद पुनःस्थापनाको एजेन्डालाई सशक्त रूपमा अघि बढाउने रणनीति तयार गर्नेछ।
एमालेको सचिवालय बैठकले यसअघि नै पार्टीलाई आगामी ११औँ महाधिवेशनतर्फ लैजाने निर्णय गरिसकेको छ। मंसिरको अन्तिम सातातिर महाधिवेशन गर्ने तयारी भइरहेको पार्टी स्रोतले जनाएको छ।
ओलीको नेतृत्व र भण्डारीको सदस्यता विषयमा पनि चासो
हालको बैठकलाई विशेष ध्यानका साथ हेरिएको छ, किनभने अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आन्तरिक असन्तुष्टि बढ्दै गएको बताइन्छ। ‘जेनजी आन्दोलन’को प्रभावमा सरकारबाट बाहिरिएका ओलीलाई पार्टी नेतृत्वबाट पनि विदा गर्नुपर्ने आवाज पार्टीभित्रैबाट उठ्न थालेको छ।
भक्तपुरको गुण्डुमा असोज २४ र २६ गते बसेको सचिवालय बैठकमा अधिकांश उपाध्यक्ष र सचिवहरूले ओलीले पदत्याग गर्नुपर्ने धारणा राखेका थिए। तर, ओली भने आगामी महाधिवेशन आफैंको नेतृत्वमा सम्पन्न गर्ने योजनामा छन्।
यसैबीच, पूर्वराष्ट्रपति तथा पार्टीकी पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता नवीकरणबारे पनि बैठकमा छलफल हुने भएको छ।
सचिवालय बैठकमा उपाध्यक्ष विष्णु पौडेललगायतका नेताहरूले भण्डारी राजनीतिमा सक्रिय रहन चाहन्छिन् भने उनको पार्टी सदस्यता रोक्न नहुने मत राखेका थिए। तर, अध्यक्ष ओलीले यसबारे स्पष्ट धारणा दिएका छैनन्।
गत साउनमा बसेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई पार्टी सदस्यता नदिने निर्णय गरेको थियो। तर, पछिल्ला दिनमा नेताहरूबीच पुनः नवीकरणको प्रस्तावले यसपटकको बैठकलाई झन् संवेदनशील बनाएको छ।