काठमाडौँ । उच्च शिक्षा अध्ययनका लागि विदेश जाने विद्यार्थीमार्फत ठूलो परिमाणमा रकम विदेशिएको पाइएको छ।नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो महिनासम्मको आर्थिक विवरणअनुसार, भदौ महिनामा मात्रै विद्यार्थीहरूले रु ३२ अर्ब ७६ करोड विदेश लगेका छन्। अघिल्लो वर्षको सोही अवधिमा यो रकम रु २८ अर्ब २० करोड थियो।
यस अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय (ट्राभल एक्सपेन्स) पनि उल्लेख्य रूपमा बढेको छ। भदौसम्म भ्रमण व्यय नौ दशमलव छ प्रतिशतले वृद्धि भई रु ४७ अर्ब ३१ करोड पुगेको राष्ट्र बैंकले जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा यो रकम रु ४३ अर्ब १८ करोड मात्र थियो।
त्यस्तै, समीक्षा अवधिमा खुद सेवा आय (Net Service Income) रु ३१ अर्ब १६ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यो घाटा रु २७ अर्ब ९३ करोड थियो।
सेवा खाताअन्तर्गत भ्रमण आय (Tourism Income) भने नौ दशमलव आठ प्रतिशतले बढेको छ। चालु आवको पहिलो दुई महिनामा भ्रमण आय रु ११ अर्ब ५८ करोड पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिमा रु १० अर्ब ५५ करोड थियो।
राष्ट्र बैंकका अधिकारीहरूका अनुसार पछिल्ला वर्षमा विदेश अध्ययनका लागि जाने विद्यार्थीको संख्या तीव्र गतिमा बढ्दै गएको छ। यससँगै शिक्षाशुल्क, बसोबास, र अन्य खर्चका कारण विदेशी मुद्राको ठूलो मात्रा बाहिरिने क्रम बढ्दो छ, जसले भुक्तानी सन्तुलनमा असर पार्ने जोखिम पनि बढाएको छ।