बुटवल । लामो समयदेखि रुपन्देहीको भैरहवाबाट नेत्र उपचार सेवा दिइरहेको लुम्बिनी नेत्रालय प्रालिले अब बुटवलमा पनि आफ्नो शाखा विस्तार गरेको छ। बुटवलको पुष्पलाल पार्कमा सञ्चालनमा आएको यस नयाँ शाखासँगै एक सातासम्म निःशुल्क स्वास्थ्य शिविरको समेत व्यवस्था गरिएको छ।
बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी नेत्रालयका म्यानेजिङ डाइरेक्टर हिरा शाहले सेवा विस्तारको उद्देश्य प्रदेशका नागरिकलाई अझ नजिकबाट गुणस्तरीय नेत्र उपचार उपलब्ध गराउनु रहेको बताउनुभयो। उहाँले नेत्रालय स्थापना भएको २० वर्षको अवधिमा लाखौँ बिरामीले सेवा पाएको उल्लेख गर्दै हाम्रो अस्पतालमा अहिले पनि करिब ६० प्रतिशत भारतीय नागरिक उपचारका लागि आउने गर्छन्, भन्नुभयो। श्रेष्ठले अब कपिलवस्तुको कृष्णनगर, लुम्बिनी र सुनौली गेटमा पनि शाखा विस्तारको तयारी भइरहेको जानकारी दिनुभयो।
कार्यक्रममा चिफ मेडिकल डाइरेक्टर डा. सन्तोष सुवेदीले बुटवल शाखा अत्याधुनिक उपकरण र नवीनतम प्रविधियुक्त सेवा केन्द्रको रूपमा विकास गरिएको बताउनुभयो। उहाँका अनुसार, यस विस्तारपछि लुम्बिनी प्रदेशका नागरिकलाई अब आँखाको उपचारका लागि टाढा जानु पर्दैन। सबै किसिमका नेत्र सेवा यहीँ सहज रूपमा उपलब्ध हुनेछ।
त्यस्तै, डेपुटी डाइरेक्टर अनिल शेरचनले संस्थाको सेवा प्रवाहप्रति बिरामी र सरोकारवालाहरूबाट सकारात्मक सल्लाह र सुझाव प्राप्त भइरहेको उल्लेख गर्दै अझ प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाउनुभयो।
नेत्रालयकी नानी रोग विशेषज्ञ डा. ज्योति सापकोटाले आँखाको नानी मानवीय दृष्टिको सबैभन्दा संवेदनशील र महत्वपूर्ण भाग भएको बताउँदै यसको नियमित परीक्षण आवश्यक रहेको सुझाव दिनुभयो।
करिब ३ करोड रुपैयाँको लगानीमा सञ्चालनमा आएको बुटवल शाखामा रेटिना, आरओपी, नानी प्रत्यारोपण लगायतका विशेष उपचार सेवा उपलब्ध छन्। यहाँ हरेक बिहीबार रेटिना जाँच, शुक्रबार नानी प्रत्यारोपण, र कार्तिक १ गते शनिबार जलबिन्दु परीक्षण कार्यक्रम सञ्चालन हुने नेत्रालयले जनाएको छ।
शाखा शुभारम्भको अवसरमा बिरामीहरूका लागि विशेष छुटको व्यवस्था गरिएको छ । पहिलो सातासम्म जाँच शुल्क निःशुल्क र सबै सेवामा ५० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।
लुम्बिनी नेत्रालयमा हाल ६५ जनाको दक्ष प्राविधिक तथा चिकित्सक टोली कार्यरत रहेको छ। संस्थाले भविष्यमा पनि थप गुणस्तरीय र अन्तर्राष्ट्रियस्तरको नेत्र उपचार सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ।