काठमाडौं । प्रतिकूल मौसमका कारण देशभरका राजमार्गमा रोकिएका सवारीसाधनलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउन गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ।
मन्त्रालयले आज प्रमुख जिल्ला अधिकारीलाई पत्राचार गर्दै यात्रुहरूको खानपानको व्यवस्था स्थानीय तह तथा सङ्घसंस्थासँग समन्वयमा मिलाउन आग्रह गरेको छ। एम्बुलेन्सलाई प्राथमिकताका साथ सुरक्षित रूपमा गन्तव्यसम्म पुर्याउने तथा गर्भवती महिलालाई नजिकको स्वास्थ्य संस्थासम्म पु¥याउने व्यवस्था गर्न पनि निर्देशन गरिएको छ।
बाढी–पहिरोको जोखिमपूर्ण क्षेत्रका परिवारलाई सुरक्षित स्थान (विद्यालय वा खुला ठाउँ) मा स्थानान्तरण गर्न, मौसमका कारण उडान रोकिएका यात्रुलाई आवश्यक यातायात उपलब्ध गराउन र तत्काल उद्धार आवश्यक परेमा हेलिकप्टरमार्फत सहयोग माग्न सक्ने व्यवस्था गरिएको छ।
मन्त्रालयले जोखिमयुक्त जिल्लामा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकाय प्रमुखलाई २४ सै घण्टा कार्यालयमा उपस्थित रहन निर्देश गरेको छ। साथै, असोज २० गतेसम्म काठमाडौं उपत्यका भित्रिने–बाहिरिने तथा लामो दूरीका सवारीसाधनको आवतजावत बन्द गर्न पनि आदेश जारी गरिएको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म देशभर भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले यस्तो व्यवस्था मिलाउन परिपत्र गरिएको मन्त्रालयले जनाएको छ।