फ्लड लाइट बालेर रातभर पहिरो पन्छाइँदै

by समतल अनलाइन
118Shares

काठमाडौँ । फ्लड लाइट जडान गरेर तुइनखोला नजिकै गएको सुक्खा पहिरो पन्छाउने काम भइरहेको छ । अँध्यारोमा ‘फ्लड लाइट’ जडान गरेर पहिरो पन्छाउने काम भइरहेको हो ।

सडक सफा गरेपछि आज रातिबाट नै सवारी साधन चल्ने सम्भावना रहेको सडक डिभिजन भरतपुरले जनाएको छ । पहिरो पन्छाउनको लागि नारायणगढ तर्फबाट एक्स्काभेटर १, लोडर १ र मुग्लिन तर्फबाट लोडर २, एक्स्काभेटर ३ वटा प्रयोग गरी निरन्तर रूपमा काम गरेको हो। यसको अलावा दुवैतर्फ १/१ वटा ब्याक हो लोडर तैनाथ अवस्थामा रहेका छन्।

मंगलबार साँझ झरेको पहिरो बुधबार बिहानैदेखि पन्छाउन थालिएको थियो। बिहीबार पनि दिनभर पहिरो हटाउने काम भइरहेको छ। यसअघि रातको समयमा काम बन्द गर्ने गरिएकोमा बिहीबार भने राति ७ बजेदेखि बत्ती बालेर काम गरिएको सडक डिभिजन भरतपुरले जनाएको छ।

नारायणघाट–मुग्लिन सडक ५० घण्टा अवरुद्ध हुँदा यात्रुहरू निकै समस्यामा परेका छन्। सडक पूर्ण रूपमा अवरुद्ध बनेपछि चितवन प्रशासनले वैकल्पिक राजमार्ग प्रयोग गर्न अनुरोध गरेको छ भने अलपत्र परेका यात्रुहरूलाई बसको व्यवस्था गरेर उद्धार गरिरहेको छ ।

यसअघि यही ठाउँमा गत शुक्रबार झरेको पहिरो करिब ४५ घण्टा लगाएर हटाएपछि आइतबार अपराह्न ४ बजेतिरबाट यातायात सञ्चालनमा ल्याइएको थियो। त्यसपछि पनि सानो पहिरो खसिरहँदा पहिरो हटाउँदै कहिले एकतर्फी, कहिले दुई तर्फी यातायात सञ्चालन हुँदै आएकोमा मंगलबार ठूलो पहिरो खसेपछि राजमार्ग पुनः ठप्प भएको थियो।

You may also like