काठमाडौँ । भाटभटेनी ग्रुपका सञ्चालक मीनबहादुर गुरुङले राज्यलाई आवश्यक परे आफ्नो आधा सम्पत्ति दिन तयार रहेको बताएका छन् ।
भदौ २४ गतेको आन्दोलनमा भाटभटेनीका दर्जनभन्दा बढी स्टोरमा आगजनी र तोडफोड भएको थियो। सो घटनाबाट ठूलो क्षति बेहोरेपछि गुरुङले प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वर खनाललाई क्षतिको विवरणबारे जानकारी गराएका थिए ।
आइतबार प्रधानमन्त्री सुशीला कार्कीका भेटेर गुरुङले आवश्यक परे राज्यलाई आधा सम्पत्ति दिन तयार भएको आफूलाई किन पटक पटक आक्रमण गरिन्छ भन्दै दुखेसो पोखेका थिए । उनले ध्वस्त पारिएको भाटभाटेनी यथाशीघ्र उठाउनका लागि सरकारसँग सहयोग मागेका छन् ।
गुरुङले सहुलियत कर्जा र बीमा गरिएको सम्पत्तिको ५० प्रतिशत अग्रिम भुक्तानी उपलब्ध गराउन पनि सरकारसँग आग्रह गरेका छन् । उनले स्कालेटर, लिफ्ट, फ्रिजलगायत नष्ट भएका सामग्री भारत र चीनबाट आयात गर्दा भन्सार, अन्तःशुल्क र मूल्य अभिवृद्धि करमा छुट दिन सरकारसँग अनुरोध गरेका छन्।
गत भदौ २४ गतेको हिंसात्मक प्रदर्शनमा भाटभटेनीका २८ स्टोरमध्ये ९ वटामा तोडफोड र १२ वटामा आगजनी भएको थियो । हाल १६ स्टोर सञ्चालनमा छन् । उनले तोडफोड भएका स्टोर पुनः सञ्चालनमा ल्याइसकेको बताएका छन्।
भाटभटेनी समूहले १० हजारभन्दा बढीलाई रोजगारी दिएको छ । गुरुङले हाल स्टोरहरू बन्द भए पनि कुनै कर्मचारी नहटाएको र सेवा सुविधामा कटौती नहुने बताएका छन्।
भाटभटेनी सुपर स्टोरको वार्षिक कारोबार २७ अर्ब रुपैयाँभन्दा बढी छ।