सिद्धबाबा सुरुङमार्गको ६१ प्रतिशत काम सम्पन्न

by समतल अनलाइन
54Shares

बुटवल । राष्ट्रिय गौरवको आयोजनाका रूपमा निर्माणाधीन सिद्धबाबा सुरुङमार्गको ६१ प्रतिशत काम सम्पन्न भएको छ । सुरुङ ‘ब्रेकथ्रु’ भएपछि कामले थप गति लिएको हो ।

सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख दूध अधिकारीका अनुसार १,१२६ मिटर टनेलमध्ये १,०८९ मिटर सुरुङ खनिएको छ । सुरुङको भित्री पर्खालमा गरिने संरचनात्मक लाइनिङको सम्पूर्ण काम सकिएको छ भने इन्भर्टको काम पनि समान लम्बाइमा पूरा भएको उनले जानकारी दिए ।

हालसम्म आयोजना कार्यालयले ६१.६ प्रतिशत भौतिक र ५१.१ प्रतिशत वित्तीय प्रगति गरेको जनाएको छ । उत्तर र दक्षिण पोर्टल दुवै तर्फको काम अगाडि बढाइएको छ, जसअन्तर्गत उत्तरतर्फ १९ मिटर र दक्षिणतर्फ १८ मिटर काम गर्न बाँकी छ । साथै, दुवै पोर्टल नजिकै हेलिप्याड निर्माण भइरहेको छ ।

आयोजना प्रमुख अधिकारीले आगामी पाँचदेखि सात महिनाभित्र मुख्य सुरुङमार्गबाट सवारीसाधन गुडाउन सकिने विश्वास व्यक्त गरेका छन् । विसं २०७९ देखि निर्माण सुरु भएको यो सुरुङमार्ग बुटवल–तानसेन खण्डअन्तर्गत माथिल्लो सिद्धबाबा मन्दिरदेखि पाल्पाको दोभानसम्म १,१२६ मिटर लम्बाइमा छ ।

चाइना स्टेट कन्स्ट्रक्सन इञ्जिनियरिङ कर्पोरेसनले करिब ७ अर्ब ३४ करोड रुपैयाँ लागतमा निर्माण कार्य थालेको हो । पाँच वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित अघि बढाइएको यो आयोजनाले सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरदेखि दोभानसम्मको पहिरो–संवेदनशील क्षेत्रलाई सुरक्षित बनाउन सहयोग गर्ने अपेक्षा गरिएको छ ।

सिद्धबाबा क्षेत्रमा वर्षायाममा मात्र नभई सुक्खायाममा पनि धुले पहिरो खस्ने गरेकाले सुरुङमार्ग निर्माण अपरिहार्य मानिएको हो ।

You may also like