गुल्मी । लगातारको वर्षासँगै जिल्लाका विभिन्न स्थानमा पहिरो खस्दा प्रमुख सडकखण्डहरू अवरुद्ध भएका छन् । सडक सञ्जाल प्रभावित भएपछि सर्वसाधारण आवतजावतमा समस्या परेको छ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर सारुले दिएको जानकारीअनुसार कालीगण्डकी करिडोरअन्तर्गत कालीगण्डकी–२ राक्सेमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको छ।
त्यस्तै, मदन भण्डारी सडकमार्गअन्तर्गत रिडी–तम्घास सडकखण्ड रुरु–३ सल्लेरीमा पहिरो खस्दा यातायात आवतजावत ठप्प भएको छ। सोसँगै रुद्रवेणी–वामी सडकखण्डमा पनि अवरोध देखिएको छ। सत्यवती गाउँपालिका–४ भिर क्षेत्रमा खसेको पहिरोले बाटो बन्द भएको र सोही खण्डको डहरे खोलामा समेत सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ।
डहरे खोलामा पानीको बहाव बढेपछि सवारीसाधन रोकिएका छन्। यो बाटो प्रयोग गरेर गुल्मी र बागलुङको बुर्तिबाङसम्म आवतजावत हुने गरेको छ। पुल नहुँदा समस्या झनै बढेको स्थानीयले बताएका छन्।
सडक अवरुद्ध भएपछि अत्यावश्यक सामग्री ढुवानीमा समस्या भएको छ भने सर्वसाधारण यात्रुहरू गन्तव्यमा पुग्न समस्यामा परेका छन्। यद्यपि, पहिरो हटाउने प्रयास भइरहे पनि लगातारको वर्षाका कारण काममा कठिनाइ भएको प्रहरीले जनाएको छ।
पछिल्ला तीन दिनदेखि लगातार वर्षा भइरहेको गुल्मीमा ग्रामीण क्षेत्रमा विद्युत आपूर्ति पनि अनियमित भएको छ।