काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक (ग्रेड सुधार) परीक्षा असोज ७ र ८ गते गर्ने भएको छ। यसअघि भदौ २८ र २९ गते परीक्षा हुने गरी तालिका सार्वजनिक गरिएको भए पनि देशको वर्तमान परिस्थितिका कारण तालिका संशोधन गरेर नयाँ मिति तोकिएको बोर्डले जनाएको छ।
नयाँ तालिका अनुसार, असोज ७ गते अनिवार्य अङ्ग्रेजी (कोड ००४१) को परीक्षा हुनेछ। एक मात्र विषयमा परीक्षा दिने विद्यार्थीले यसै दिन परीक्षा दिनुपर्नेछ। दुई विषयमा पूरक परीक्षा दिने विद्यार्थीका लागि पहिलो दिन सानो कोड नम्बर भएको विषयको परीक्षा हुने बोर्डले जनाएको छ। सोही अनुसार, दुई विषयमा परीक्षा दिनेहरूले पहिलो दिन अनिवार्य अङ्ग्रेजी (००४१) र दोस्रो दिन असोज ८ गते अनिवार्य नेपाली (००२१) को परीक्षा दिनुपर्नेछ।
असोज ८ गते भने दुई विषयका लागि ठूलो कोड नम्बर भएको विषयको परीक्षा सञ्चालन गरिनेछ। तर अनिवार्य अङ्ग्रेजी (००४१) विषयको परीक्षा सो दिन हुने छैन।
बोर्डले पूरक परीक्षाका लागि आवश्यक तयारी पूरा भएको र परीक्षा केन्द्रहरू पनि तोकिसकिएको जानकारी दिएको छ।