विप्लवको प्रश्न : विद्रोह जेनजीको, सरकार जेनएक्सको ?

by समतल अनलाइन
62Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले वर्तमान सरकार जनअपेक्षा विरुद्ध गठन भएको भन्दै आपत्ति जनाएका छन् । पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारको बनोट जनभावना विपरित बनेको विप्लवको ठहर छ ।

महासचिव विप्लवले आज भिडियो सन्देश जारी गर्दै ‘विद्रोह जेनजीको तर सरकार जेन–एक्सको’ भएको भन्दै विरोध जनाएका हुन् ।

‘सम्पूर्ण नागरिकहरुको प्रतीक्षालाई चिर्दै पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार निर्माण भएको छ । सरकारको निर्माण जेन जी र जनताको अपेक्षा विपरीत बन्न पुगेको छ’ उनले भनेका छन्, ‘विद्रोह जेनजीको सरकार जेन एक्सको भएको छ । हाम्रो पार्टी यो सरकारको बनोटप्रति विरोध दर्ज गर्दै गम्भीरतापूर्वक नियाल्ने निष्कर्षमा पुगेको छ ।’

आन्दोलनरत शक्ति, नागरिक समाज, संघर्षरत राजनीतिक शक्ति सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार बन्नुपर्छ भन्ने सुझाव पुगे पनि यसलाई जानाजान बेवास्ता गरिएको विप्लवले बताएका छन् । त्यसैले राजनीतिक दल र जनताले यसलाई नस्वीकार्ने उनको भनाइ छ ।

‘कसको दबाब वा इसारामा यो गरियो विषय रहस्यपूर्ण छ,’ विप्लवले भनेका छन्, ‘परन्तु यसमा गैरदलीय, गैर वामपन्थी सोचले काम गरेको देख्न सकिन्छ ।’

उनले अहिले सरकार र मन्त्रीमण्डल मात्र नभई राज्यको पुनर्संरचना र संविधानको पुनर्लेखन चाहिएको बताएका छन् ।

You may also like