काठमाडौँ । चौतर्फी आलोचना पछि यातायात व्यवस्था विभागले सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट तत्कालै अनिवार्य नगरेको स्पष्ट पारेको छ।
आज विभागले जारी गरेको विज्ञप्तिमा असोज १ गतेदेखि जडान नगरे पनि तुरून्त कारबाही वा जरिवाना हुने भन्ने भ्रम पूर्ण रूपमा गलत भएको उल्लेख छ। विभागका अनुसार हाललाई कुनै पनि किसिमको जरिवाना वा कारबाही नहुने भए पनि सवारीधनीहरूले आफूलाई अनुकूल समयमा दर्ता गरेको यातायात कार्यालयमा गई स्वेच्छाले नम्बर प्लेट जडान गर्न अनुरोध गरिएको छ।
विभागको विज्ञप्तिमा भनिएको छ, “इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरूमा क्रमशः जडान गर्दै लैजाने निर्णय भएको हो। तर असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरून्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम फैलिएको छ। तत्काललाई कुनै किसिमको दण्ड/जरिवाना नगरिने व्यहोरा स्पष्ट पारिन्छ।”
यातायात व्यवस्था विभागले प्रदेशस्तरीय कार्यालयहरूमा आवश्यक पूर्वाधार र जनशक्ति परिचालन गरिएको उल्लेख गर्दै सेवाग्राहीलाई सहजताका लागि आवश्यकतानुसार थप प्रबन्ध पनि गर्दै जाने जनाएको छ।
यसअघि विभागले भदौ ३ गते सूचना जारी गर्दै असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गर्ने निर्णय गरेको थियो। सो सूचनापछि विभिन्न तर्फबाट विरोध र आलोचना भएपछि विभागले आज विज्ञप्ति मार्फत तत्कालै कारबाही नहुने प्रष्ट पारेको हो।