मौलिक तीज गीत र स्वास्थ्य सचेतनासहित देविनगरमा जि–ट्वान्टी फाइभ क्लबको तीज कार्यक्रम

by समतल अनलाइन
113Shares

बुटवल।नेपाली हिन्दु महिलाहरूको महान पर्व हरितालिका तीजको अवसरमा बुटवल–११ देविनगर चौपारीमा भव्य खुला तीज विशेष कार्यक्रम हुने भएको छ। कार्यक्रम जि–ट्वान्टी फाइभ क्लब देविनगरको आयोजनामा भदौ १० गते तीजकै दिन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने छ।

सोमबार पत्रकार सम्मेलन गर्दै क्लबका अध्यक्ष जयदिप न्यौपानेले यसपटक करिब ३० देखि ३५ हजारसम्म सहभागी हुने अनुमान गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार मौलिकता झल्काउने पुराना तीज भाका, भगवानप्रतिको आराधना तथा परम्परागत संस्कृतिलाई जगेर्ना गर्ने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्न लागिएको हो। मौलिक भाकामा बाध्यबादनसहित प्रस्तुत गरिने तीज गीत प्रतियोगिता अन्य वर्षभन्दा फरक र आकर्षक हुने क्लबको दाबी छ।

क्लबका प्रचार–प्रसार संयोजक तथा महासचिव किशोर पङ्गेनीले कार्यक्रमलाई अनुशासित र सुरक्षित बनाउन सबै तयारी पूरा भएको बताउनुभयो। उहाँका अनुसार आवश्यक सम्पूर्ण निकायबाट अनुमति लिएर सुरक्षा व्यवस्था कडाइ गरिएको छ। विशेष सुरक्षा व्यवस्थासहित कार्यक्रममा सिसिटिभि क्यामेरा जडान गरिएको छ भने सहभागी र दर्शकलाई सहज बनाउन हेल्थ डेस्कको समेत व्यवस्था गरिएको छ।

यसपटकको तीज कार्यक्रममा विशेष आकर्षणका रूपमा विषिष्ट चिकित्सकहरूद्वारा स्वास्थ्य सचेतना कार्यक्रम समेत समावेश गरिएको छ। महिलाहरूलाई लक्षित गरी महिला स्वास्थ्य, पाठेघरसम्बन्धी समस्या, पोषण र नियमित स्वास्थ्य परीक्षणका बारेमा विशेषज्ञ डाक्टरहरूले प्रत्यक्ष जानकारी दिनेछन्। साथै निःशुल्क स्वास्थ्य जाँचको सुविधा समेत उपलब्ध गराइने भएकाले यो कार्यक्रम धार्मिक, सांस्कृतिक मात्र नभई स्वास्थ्य चेतनामूलक पनि हुने आयोजकको भनाइ छ।

कार्यक्रम संयोजक तेजेन्द्र खनालका अनुसार सांगीतिक प्रस्तुतिहरू बाध्यबादनसहित हुने भएकाले प्रतियोगिता थप रमाइलो र प्रतिस्पर्धात्मक बन्ने अपेक्षा गरिएको छ।

कार्यक्रमको प्रत्यक्ष प्रसारण बुद्ध टेलिभिजनमार्फत हुनेछ। यसले कार्यक्रम स्थलमा उपस्थित हुन नसक्नेहरूलाई समेत तीजको माहोल घरमै बसेर हेर्ने सुविधा दिनेछ।

२०७३ सालमा विधिवत दर्ता भएको जि–ट्वान्टी फाइभ क्लबको स्थापना २०६८ सालमा २५ जना युवाले गरेका थिए। हाल ५८ जना सदस्य रहेको क्लबले विगत ८ वर्षदेखि निरन्तर सामाजिक, सांस्कृतिक र सामुदायिक गतिविधि गर्दै आएको छ। स्थानीय टोल विकास संस्थासँगको सहकार्यमा आयोजना हुने यसपटकको खुला तीज गीत प्रतियोगिताले समुदायलाई अझ एकताबद्ध गर्ने तथा मौलिक संस्कृति जगेर्नामा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

You may also like

This will close in 0 seconds