रोटरी क्लब अफ बुटवलको १५७८औँ नियमित बैठक सम्पन्न

by समतल अनलाइन
82Shares

बुटवल । रोटरी क्लब अफ बुटवलको १५७८औँ नियमित बैठक शनिबार सम्पन्न भएको छ। यसपटकको बैठकमा गेष्ट स्पिकरका रूपमा नेपालमै सफल ‘ड्याडीज किचन’ का सञ्चालक तथा उत्कृष्ट युवा उद्यमी कमलजंग कुँवरले सहभागीहरुलाई सम्बोधन गरेका थिए।

उद्यमी कुँवरले सफलता पाउन लगनशीलता पहिलो शर्त हुने उल्लेख गर्दै जुन क्षेत्रमा लागे पनि निरन्तरता र मेहनत अपरिहार्य रहेको बताए। उनले नयाँ प्रविधिलाई आत्मसात गर्दै त्यसलाई व्यवहारमा उतार्नुका साथै प्रचार–प्रसारलाई पनि व्यवसायसँगै अघि बढाउनुपर्नेमा जोड दिए।

प्राकृतिक सम्पदाले भरिपूर्ण नेपालमा विश्वकै अनुपम सम्भावना रहेको उल्लेख गर्दै कुँवरले त्यसलाई चिन्न, बुझ्न र कार्यान्वयनमा ल्याउन युवापुस्ताले तत्परता देखाउनुपर्ने सुझाव दिए। “अरुले गरेनन् भनेर दोषारोपण नगरी आफ्नै क्षेत्रमा उद्यमशीलता देखाउनुपर्छ,” भन्दै उनले राज्यले वातावरण तयार गरिदिने तर सफल बनाउन भने आफैं लाग्नुपर्ने अनुभव सुनाए। राजनीतिक दलले युवालाई राजनीति मार्फत पनि उज्ज्वल भविष्य सम्भव छ भन्ने बुझाउन सके विदेशी पलायन नियन्त्रण हुने उनको भनाइ थियो।

हाल नेपालभर २३ शाखा सञ्चालन गर्दै करिब एक हजार जनालाई प्रत्यक्ष रोजगारी दिँदै आएका कुँवरले ड्याडीज फुड मोबाइल भ्यान, ‘नो सुगर नो अल्कोहल’ जुस, पपया, कुकर कफी, ड्याडीज केक, ड्याडीज क्यान्टिन, ड्याडीज एक्सप्रेसलगायत व्यवसाय सञ्चालन गर्दै आएका छन्।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष कृष्ण पराजुलीले रोटरीले सामाजिक क्षेत्रमा मात्र नभई व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि र पेशागत परिचयलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको जानकारी दिए। उनका अनुसार हरेक महिनामा चार पटक नियमित बैठक गर्दै रोटरीयन, रोट्रयाक र इन्ट्रयाक सदस्यलाई कार्यक्रममार्फत व्यवसायिक र सामाजिक अनुभव बाँड्ने अवसर दिइँदै आएको छ।

अध्यक्ष पराजुलीले समुदायमै गएर आवश्यकताअनुसार परियोजना सञ्चालन गर्ने अभ्यासलाई रोटरीले निरन्तरता दिइरहेको उल्लेख गरे। कार्यक्रममा सहभागिहरूले राखेका जिज्ञासाको गेष्ट स्पिकर कुँवरले विस्तृत सहजीकरण गरेको क्लबका सचिव शिवकुमार ज्ञवालीले जानकारी दिए।

You may also like