रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिकाबाट पौने २ करोडको अवैध सामग्री बरामद

by समतल अनलाइन
75Shares

बुटवल । रुपन्देही प्रहरीले लुम्बिनी साँस्कृतिक नगरपालिका–१० महिलवारबाट करिब पौने दुई करोड रुपैयाँ बराबरको भन्सार छलि सामग्रीसहित पिकअप जिप बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुधबार साँझ लु २ च ६३०३ नम्बरको पिकअप जिप चेकजाँच गर्ने क्रममा सो सामग्री बरामद गरिएको हो ।

ईलाका प्रहरी कार्यालय लुम्बिनी र अस्थायी प्रहरी बिट महिलवारबाट खटिएको टोलीले चेकजाँच गर्दा बिल–बिजक नभएको करिब १ करोड ७१ लाख २५ हजार रुपैयाँ मूल्य बराबरको सामग्री भेटिएको जनाएको छ ।

प्रहरीले घटनास्थलमै पिकअप जिप चालक, मायादेवी गाउँपालिका–४ बस्ने ३० वर्षीय नारायण अग्रहरीलाई नियन्त्रणमा लिएको छ ।

बरामद सामग्रीमा विभिन्न कम्पनीका २७ कार्टुन फ्लेवर, ग्रयाप आईस इलेक्ट्रिक भेप १ हजार ५८० थान, विभिन्न कम्पनीका ४ हजार ३८१ थान इलेक्ट्रिक भेप, इलेक्ट्रिक मिक्सर १ थान, प्लाष्टिक प्याक गर्ने मेसिन १ थान र करिब १५ किलो र्यापिङ प्लाष्टिक रहेको प्रहरीले जनाएको छ ।

बरामद सामग्री तथा जिप आवश्यक अनुसन्धान र कारबाहीका लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरीले जनाएको छ ।

You may also like