बुटवल । रुपन्देहीमा साउन महिनाभरि घरेलु हिंसाका घटनामा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका ७७ वटा उजुरीमध्ये सबैभन्दा बढी उजुरी बुटवल उपमहानगरपालिकाबाट परेका छन् ।
प्रहरी तथ्यांकअनुसार बुटवलबाट १९ वटा उजुरी दर्ता भएका छन् भने दोस्रो स्थानमा १४ उजुरीसहित सिद्धार्थनगर नगरपालिका छ । त्यसैगरी सियारी ७, मायादेवी गाउँपालिका ६, लुम्बिनी सांस्कृतिक र तिलोत्तमा ५–५, सम्मरीमाइ र रोहिणी ४–४, ओसतिया र सैनामैना ३–३, देवदह २, मर्चवारी, शुद्धोधन र कञ्चनबाट १–१ उजुरी परेका छन् । कोटहीमाई गाउँपालिकाबाट भने कुनै उजुरी परेको छैन ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सुरज कार्कीका अनुसार उजुरीमध्ये सबैभन्दा धेरै घरायसी झैझगडा (३०), कुटपिट (२१) र मादकपदार्थ सेवनपछि गालीगलौज (१८) रहेका छन् । यस्तै, घरमा खानबस्न नदिएको ३, विवाह दर्ता तथा नागरिकता नबनाइदिएको २, श्रीमान्ले दोस्रो विवाह गरेको १ र श्रीमती माइत गएको उजुरी २ दर्ता भएका छन् ।
“प्रहरीमा परेका ७७ उजुरीमध्ये ६६ वटा सहमति गराएर समाधान भइसकेका छन् भने ११ वटा अझै प्रक्रियामा छन्,” डिएसपी कार्कीले जानकारी दिए ।
समुदाय अनुसार मधेसी समुदायबाट सबैभन्दा बढी २४ उजुरी दर्ता भएका छन् । त्यसपछि ब्राह्मण–क्षेत्रीका १९, मुस्लिम समुदायका १३, जनजातिका ११ र दलितका १० उजुरी दर्ता भएका छन् । उमेर समूहमा हेर्दा २६–३५ वर्षका ३१ उजुरी, १८–२५ वर्षका २१, ३६–४५ वर्षका १६, ४६–६० वर्षका ५ र ६० वर्षमाथिका ४ उजुरी परेका छन् ।
यसैबीच, प्रहरी तथ्यांकअनुसार साउन महिनामा रुपन्देहीमा २२ जनाले आत्महत्या गरेका छन् । जसमध्ये १९ जना झुण्डिएर आत्महत्या गरेका हुन् ।
त्यसैगरी, साउन महिनामा मानिस हराएको सम्बन्धमा ८९ उजुरी दर्ता भएकोमा २९ जना मात्र फेला परेका छन् । हराएका मध्ये १८ वर्ष मुनिका ३६ उजुरी परेका थिए, जसबाट १२ जना भेटिएका छन् । १९–५९ वर्ष उमेर समूहका ५६ उजुरीमध्ये १७ जना भेटिएका छन् भने ६० वर्षमाथिका ४ जनामध्ये एकजनासमेत फेला परेका छैनन् ।
साउन महिनामा विपद्का घटनामा परी रुपन्देहीमा २ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । त्यस्तै, विपद्बाट २ वटा चौपाया मरेका छन् । करिब ९ लाख ५ हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ ।