इक्यान रुपन्देहीद्वारा करदाता शिक्षा तथा लेखा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

by समतल अनलाइन
99Shares

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको आयोजनामा “करदाता शिक्षा तथा लेखा व्यवस्थापनसम्बन्धी अन्तरक्रिया कार्यक्रम” बुटवलमा सम्पन्न भएको छ । कार्यक्रम इक्यान रुपन्देहीका अध्यक्ष गिरीराज पाण्डेको अध्यक्षता र इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा इक्यानमा आबद्ध शैक्षिक परामर्श व्यवसायीहरूलाई कर शिक्षा, लेखा प्रणाली, व्यवसाय कर, कर छुट, मूल्य अभिवृद्धि कर लगायतका विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो ।

कार्यक्रममा इक्यानका केन्द्रीय अध्यक्ष शेषराज भट्टराईले सदस्य संस्थाहरूले आचारसंहिताभित्र रही सत्य, प्रमाणित र पारदर्शी सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले शैक्षिक परामर्श सेवाले विद्यार्थीको भविष्यसँग प्रत्यक्ष सम्बन्ध राख्ने भएकाले हरेक संस्थाले उत्तरदायित्वप्रति गम्भीर बन्नुपर्ने उल्लेख गर्नुभयो । साथै, अनियमितता वा भ्रमपूर्ण जानकारी दिने संस्थामाथि इक्यानले कडा निगरानी गरी आवश्यक कारबाहीको सिफारिस गर्ने नीति अवलम्बन गरिने चेतावनी दिनुभयो ।

इक्यान रुपन्देहीका संस्थापक तथा निवर्तमान अध्यक्ष देवबहादुर कुँवरले कार्यक्रमको औचित्य स्पष्ट पार्दै करसम्बन्धी सचेतना वृद्धि गर्दै सदस्य संस्थाहरूलाई व्यवस्थित र उत्तरदायी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो । उहाँले शैक्षिक परामर्श व्यवसाय क्रमशः व्यवस्थित रूपमा विस्तार भइरहेको सन्दर्भमा, लेखा र कर प्रणालीप्रति सजग रहनु अत्यावश्यक रहेको उल्लेख गर्नुभयो ।

करसम्बन्धी प्रशिक्षण इक्यान केन्द्रीय समितिका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे र कोषाध्यक्ष आशिक कार्कीले प्रदान गर्नुभएको थियो । करका विभिन्न प्रावधानहरू, करको वर्गीकरण, फर्म दर्ता गर्दा ध्यान दिनुपर्ने कुराहरू, कर तिर्ने समय र प्रक्रिया, छुटका व्यवस्था, दण्ड–जरिवाना लगायतका विषयमा विस्तृत प्रस्तुति दिनुभयो । प्रशिक्षण सत्र अत्यन्त व्यावहारिक र सहभागीमैत्री शैलीमा संचालन गरिएको थियो, जसले सहभागी व्यवसायीहरूलाई आफ्नो दैनिक कार्यमा सिधा रूपमा उपयोग गर्न सकिने ज्ञान प्रदान ग¥यो ।
प्रशिक्षणपछि सहभागी व्यवसायीहरूबीच लेखा प्रणाली कसरी व्यवस्थित राख्ने, बिल तथा इनभ्वाइस काट्ने कानुनी तरिका, मूल्य अभिवृद्धि करको सही प्रयोग, विवरण कहिले र कसरी बुझाउने, कर कार्यालयसँग समन्वय गर्ने तरिका लगायतका विषयमा गहन र खुला छलफल भएको थियो ।

सहभागीहरूले आफ्ना अनुभव, समस्या र जिज्ञासाहरू साझा गर्दै समाधान खोज्ने प्रयास गरेका थिए, जसले कार्यक्रमलाई अझ प्रभावकारी र उद्देश्यपूर्ण बनाएको थियो। यस्तो किसिमको व्यावसायिक र जानकारीमूलक प्रशिक्षणले सदस्य संस्थाहरूलाई पारदर्शिता, जवाफदेहिता र कानुनी दायित्व पालन गर्न मद्दत पु¥याउने विश्वास व्यक्त गरिएको थियो ।

कार्यक्रममा एनएमबि बैंक लुम्बिनी तथा कर्णाली प्रदेश प्रमुख युवराज पाठकले बैंक सधैं इक्यान सदस्यहरूसँग सहकार्य गर्न तत्पर रहेको र बैंकिङ समस्याको समाधानमा सहजता ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

इक्यान रुपन्देहीका उपाध्यक्ष राजेश प्रसाद पाण्डेले स्वागत मन्तव्य राख्दै अतिथि, प्रशिक्षक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले यस्ता कार्यक्रममा सबैको सक्रिय सहभागिता सराहनीय रहेको उल्लेख गर्दै, यसले पारदर्शिता र उत्तरदायित्वमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रम संयोजक तथा इक्यान रुपन्देहीका कोषाध्यक्ष दिपेश अर्यालले धन्यवाद मन्तव्य दिँदै सहभागी सम्पूर्ण अतिथि, प्रशिक्षक तथा सदस्यहरूप्रति आभार व्यक्त गर्नुभयो । कार्यक्रमको सञ्चालन इक्यान रुपन्देहीका सचिव गोविन्द बस्नेतले गर्नुभएको थियो ।

You may also like