बुटवल।लियो जिल्ला परिषद ३२५ पि नेपालले आफ्ना अन्तर्गतका सबै क्लबका नव निर्वाचित पदाधिकारीहरूलाई लक्षित गरी ‘पाठशाला’ नामक तालिम कार्यक्रम बुटवलमा सम्पन्न गरेको छ। कार्यक्रम बुटवलको कालिकानगरस्थित महाराजा रिसोर्टमा एरिया १ र एरिया २ को संयुक्त आयोजनामा गरिएको हो।
कार्यक्रममा करिब २०० जना लियो सदस्यहरूको उपस्थिति रहेको थियो। अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, सदस्यता संयोजक, सह-सचिव तथा सह-कोषाध्यक्ष लगायत विभिन्न पदका प्रतिनिधिहरूलाई छुट्टाछुट्टै कक्षमा पदअनुसारका जिम्मेवारी, कार्यसम्भार र नेतृत्व क्षमताका विषयमा तालिम दिइएको थियो।
कार्यक्रमको उद्घाटन लायन्स इन्टरनेशनल ३२५ पि नेपालका जिल्ला गभर्नर PMJF लायन बालाराम भट्टराईको प्रमुख आतिथ्यमा भएको थियो। उनले युवालाई देशको जिम्मेवारी वहन गर्न तयार रहन आग्रह गर्दै भने, “तपाईंहरूको काँधमा अब समाजको सपना छ, तपाईंभित्रको तपाईंलाई चिन्नुस्, नेतृत्व सफल हुनेछ।”
कार्यक्रममा लायन्सका IPDG तथा पूर्व अध्यक्षहरू, अग्रज लायन तथा सिनियर लियोहरूको पनि उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा लियो मल्टिपल डिस्टिक नेपालका अध्यक्ष साजन भण्डारी, IPDG MJf लायन पुरुषोत्तम भक्त प्रधानांग, प्रमुख जिल्ला सल्लाहकार लायन शार्दुल मयूर कसौधन लगायतले पनि मन्तव्य व्यक्त गरे।
कार्यक्रमको पहिलो सत्र एरिया १ का एरिया डिपुटी चिफ लियो अस्मिता खडकाले सञ्चालन गरेकी थिइन् भने दोस्रो सत्र एरिया २ का डिपुटी चिफ लियो केशव बस्यालले सञ्चालन गरेका थिए। कार्यक्रमको अध्यक्षता एरिया १ का एरिया चिफ लियो जीवन थापा क्षेत्रीले गरेका थिए।
जिल्ला अध्यक्ष लियो श्रीधर बस्यालले स्वागत मन्तव्य राख्दै आफ्नो कार्य योजना (Plan of Action) प्रस्तुत गरेका थिए। उनले तालिमको माध्यमबाट पदाधिकारीहरूले नेतृत्व, जिम्मेवारी र संस्थागत दायित्वबारे स्पष्ट ज्ञान पाउने विश्वास व्यक्त गरे।