अटिजमसम्बन्धी अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न

by समतल अनलाइन
75Shares

बुटवल।समर्पण बालगृह बुटवलले अटिजमसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले शनिबार अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समर्पण बालगृहले अटिजमसम्बन्धी विद्यालय सञ्चालन गरी समाजमा उल्लेखनीय योगदान पुर्‍याएको बताए। उनले बालगृहको प्रयासमा नगरपालिकाको निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा विशेष अतिथि बेलायतमा अटिजम स्कुल सञ्चालन गर्दै आएका नरेन्द्र कंडेलले विद्यालयलाई आर्थिक, नैतिक र शैक्षिक सहयोग गर्ने प्रतिबद्धता जनाउँदै प्रारम्भिक रूपमा दुई लाख रुपैयाँ नगद सहयोग प्रदान गरेका थिए। उनलाई विद्यालयको तर्फबाट विशिष्ट सल्लाहकारमा मनोनयन गर्दै विशेष सम्मान गरिएको थियो।

नेपाल चिकित्सक संघ लुम्बिनीका अध्यक्ष डा. कृष्ण खरेलले महिलाको नेतृत्वमा सञ्चालन भएको समर्पण बालगृहले अटिजम भएका बालबालिकालाई समाजमा समायोजन गराउन उल्लेखनीय भूमिका खेलेको बताए। कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ पि का गर्भनर बालाराम भट्टराई, समाजसेवी सरस्वती ढुंगाना लगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।

समर्पण बालगृहमा हाल अटिजमसम्बन्धी समस्या भएका ५० जना बालबालिका अध्ययनरत छन्।
कार्यक्रम बालगृहकी अध्यक्ष डा. शान्त शर्माको अध्यक्षता, प्रिन्सिपल मञ्जु श्रेष्ठको स्वागत मन्तव्य र उपाध्यक्ष पुष्पा कंडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

You may also like