गुल्मी बम्घा–रुपन्देही सम्पर्क समाजले सहकार्यमा तिलोत्तमामा सेवा शिविर सञ्चालन

by समतल अनलाइन
139Shares

बुटवल । गुल्मीको रुरुक्षेत्र गाउँपालिका–५ बम्घाबाट रुपन्देही र आसपासमा बसोबास गर्दै आएका नागरिकलाई लक्षित गर्दै तिलोत्तमा–१, ड्राइभरटोलमा एक दिने प्रशासनिक सेवा शिविर सम्पन्न भएको छ।

तिलोत्तमा नगरपालिका–१ को वडा कार्यालयमा सञ्चालन गरिएको सो शिविरमा जन्म, मृत्यु, नाता प्रमाणिकरण, सामाजिक सुरक्षा भत्ता नविकरण जस्ता सेवा प्रदान गरिएको थियो। एकै दिनको शिविरबाट ७३ जना सेवाग्राहीले प्रत्यक्ष लाभ लिएका छन्।

शिविर रुरुक्षेत्र गाउँपालिका–५ को पहलमा, गुल्मी बम्घा–रुपन्देही सम्पर्क समाजको समन्वयमा र तिलोत्तमा नगरपालिका वडा नं. १ को सहकार्यमा सञ्चालन गरिएको हो।

कार्यक्रममा रुरुक्षेत्र गाउँपालिका–५ का वडाध्यक्ष हरि प्रसाद ज्ञवालीले हाम्रा नागरिकहरू रोजगारी, पढाइ, व्यापारलगायतका कारण शहरमै बस्न बाध्य भएको उल्लेख गर्दै सामान्य कामका लागि गाउँ धाउनुपर्ने अवस्थालाई हटाउँदै सेवा नै उनीहरूको नजिक पुगोस् भनेर शिविर आयोजना गरिएको बताउनु भयो।

सम्पर्क समाजका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले बर्खायामजस्ता कठिन समयमा पनि सानो कागजातको लागि गाउँ जानुपर्ने बाध्यता रहेको बताउँदै अब समाजले वडासँग सहकार्य गरेर सेवा सिधै उनीहरूको घर–आँगनसम्म पुर्‍याएको बताउनु भयो ।

उहाँले नागरिकको अनुहारमा देखिएको खुसी नै आफ्नो प्रेरणा र सफलता भएको बताउनु भयो।

त्यस्तै तिलोत्तमा–१ का वडाध्यक्ष प्रशुराम गिरीले स्थानीय तहबीचको यस्तो समन्वयलाई उत्कृष्ट नमुनाको रूपमा लिँदै वडाले सेवा त गाउँमा मात्र होइन, शहरको बस्तीमा पनि पुर्‍याउन सक्छ भन्ने उदाहरण शिविरले दिएको बताउनु भयो।

कार्यक्रममा रुद्र प्रसाद ज्ञवालीले स्वागत मन्तव्य राख्दै सेवा नागरिकसम्म सहज रूपमा पुगोस् भन्ने उद्देश्यले सबै मिलेर जुटिएको बताउनु भयो।

शिविरको सञ्चालन कोषाध्यक्ष सरोज ज्ञवालीले गर्नु भएको थियो। उहाँले सबैको सहकार्य र सक्रिय सहभागिताले कार्यक्रम सफल भएको बताउनु भयो।

You may also like