लुम्बिनीमा सवारी नवीकरणमा पुस मसान्तसम्म ७५ प्रतिशत छुट

by समतल अनलाइन
421Shares

बुटवल । लुम्बिनी प्रदेश सरकारको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयले सवारी साधन नवीकरण नगरेका सवारीधनीका लागि विशेष राहतको घोषणा गरेको छ । मन्त्रालयले आगामी साउन १ गतेदेखि पुस मसान्तसम्म नवीकरण नगरिएका सबै प्रकारका सवारी साधनको करको जरिवानामा ७५ प्रतिशत छुट दिने निर्णय गरेको हो ।

उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम न्यौपानेका अनुसार, कुनै पनि सवारी साधन नवीकरण नभएको कति वर्ष भएपनि, त्यो अवधिभरको सम्पूर्ण जरिवानामा ७५ प्रतिशत छुट दिइनेछ । “यो राहत योजना एकपटकका लागि ल्याइएको हो,” मन्त्री न्यौपानेले भन्नुभयो, “सवारीधनीहरूले यो अवसर छुटाउन नहुनेछ ।”

सवारी नवीकरण नगरी चलाउने धेरैले ट्राफिक देख्दा डराएर गाडी तीव्र गतिमा हाँक्ने र त्यसैका कारण दुर्घटनाको जोखिम बढ्ने गरेको मन्त्री न्यौपानेको भनाइ छ । उहाँले थप्नुभयो, “नवीकरण नभएका गाडीहरू लुकीछिपी चलाइँदा ट्राफिक प्रहरीलाई पनि कारबाही गर्न अप्ठ्यारो पर्छ, सवारीधनी डराउँछन्, जसले सडक दुर्घटना निम्त्याउँछ ।”

यस योजनाबाट एकातिर राजस्व संकलन हुने, अर्कोतर्फ सडकमा हुने दुर्घटनाको जोखिम न्यूनीकरण हुने अपेक्षा गरिएको छ ।

यद्यपि अहिलेसम्म नवीकरण नगरिएका सवारी साधनको यकिन संख्या छैन, मन्त्रालयले सवारीधनीहरूलाई समयमै आफ्नो गाडी नवीकरण गरेर कानुनी बनाइदिन आग्रह गरेको छ ।

मन्त्री न्यौपानेले भने, “हामीले यो छुट आगामी पुस मसान्तसम्म लागू गरेका छौँ । पछि यस्तो अफर पुनः नआउन पनि सक्छ, त्यसैले सबैले समयमै लाभ लिनुपर्छ ।”

यस निर्णयले लुम्बिनी प्रदेशका हजारौं सवारीधनीलाई राहत दिने विश्वास गरिएको छ ।

You may also like