आज यी प्रदेशमा भारी बर्षाको सम्भावना

by समतल अनलाइन
96Shares

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसमविदले जनाएका छन् । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

महाशाखाका अनुसार अहिले बिहान काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा वर्षा भइरहेको छ। कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मै हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज (सोमबार) दिउँसो देशभर साधारणतया बदली रहनेछ।

गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन / चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

राति देशभर साधारणतया बदली रहनेछ। गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन /चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । पछिल्लो समय दुई वटा केन्द्रमा पछिल्लो २४ घण्टामा सय मिलिमिटरभन्दा माथि वर्षा भएको छ। सिन्धुपाल्चोककको नुर्पुगाउँ केन्द्रमा १२२.२ र धनकुटाको त्रिवेणीमा ११२.६ मिलिमिटर वर्षा भएको छ।

मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।

यस्तै एक–दुई स्थानमा वर्षा भन्नाले सम्बन्धित प्रदेशका जुनसुकै ठाउँमा १० प्रतिशतभन्दा कम क्षेत्रफलमा पानी पर्ने सम्भावना देखिनु हो। यदि १० प्रतिशतदेखि ३० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने थोरै ठाउँमा पानी पर्न सक्छ भनिन्छ।

त्यस्तै ३० प्रतिशतदेखि ५० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने केही स्थानमा पानी पर्न सक्छ भनिन्छ। त्यस्तै ५० प्रतिशतदेखि ८० प्रतिशतसम्मको क्षेत्रफलमा पानी पर्ने सम्भावना छ भने धेरै ठाउँमा वर्षा हुन सक्छ भनिन्छ। यदि ८० प्रतिशतभन्दा बढी क्षेत्रफलमा पानी पर्ने सम्भावना भयो भने अधिकांश स्थानमा वर्षा हुन सक्छ भनिन्छ।

Comments

You may also like