बुटवल।लुम्बिनी प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता सन्तोषकुमार पाण्डेय मन्त्री नियुक्त हुने भएका छन्। मुख्यमन्त्री चेतनारायण आचार्यले सम्हाल्दै आएको खेलकुद मन्त्रालयको जिम्मेवारी पाण्डेलाई दिने तयारी अन्तिम चरणमा पुगेको छ।
मुख्यमन्त्री सचिवालय स्रोतका अनुसार पाण्डेयलाई मन्त्री नियुक्त गर्ने पत्रसहित सोमवार दिउँसो ३ बजे पद तथा गोपनीयताको सपथग्रहण कार्यक्रम तय गर्न प्रदेश प्रमुखको कार्यालयमा पत्र पठाउने तयारी भइरहेको छ।
हालै प्रस्तुत गरिएको आर्थिक वर्ष २०८१/८२ को बजेटमा विवाद बढेपछि प्रमुख प्रतिपक्षी दलहरूले बजेट अस्वीकृत गर्ने रणनीति बनाइरहेका बेला संसदमा प्रतिपक्षको रोह खाली भयो। सोही बेला सत्तापक्षले पुनः समर्थन दिएका लोसपाका नेता पाण्डेलाई मन्त्री नियुक्त गर्ने निर्णय गरिएको हो।
लोसपाले गत असार १७ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेको थियो। तर आज (साउन ११ गते) दिउँसो लोसपाले पुनः सरकारलाई समर्थन रहेको पत्र प्रदेशसभा सचिवालयमा दर्ता गराएको पाण्डेयले बताए।
यसअघि सत्ता गठबन्धनका दलहरूबीच लोसपाबाट एक जनालाई मन्त्री बनाउने सहमति भए पनि लोसपाभित्रका दुई अन्य सांसद पनि मन्त्री बन्न इच्छुक रहेका कारण करिब एक वर्ष ढिलाइ भएको थियो।
साथै, नेकपा एमालेका केही नेताहरू पाण्डेयप्रति सकारात्मक नभएको बताइए पनि हालको राजनीतिक परिस्थितिमा उनले बजेटको पक्षमा साथ दिएको कारण एमालेको समर्थन पाउन सफल भएको एक प्रदेश सांसदले जानकारी दिए।
पाण्डेलाई मन्त्री बनाउन ढिलाइ भएपछि लोसपा सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्लाले केही दिनअघि पार्टी अध्यक्ष तथा प्रदेश मुख्यमन्त्रीसँग भेटवार्ता गरेका थिए। त्यसपछि पाण्डेलाई मन्त्री बनाउने प्रक्रिया अघि बढाइएको हो।
पाण्डेयले आफू मन्त्री बन्ने पक्का भएको बताएका छन्। “हो, म मन्त्री बन्दै छु। भोलि दिउँसो ३ बजे सपथग्रहण हुने छ,” उनले भने।
हाल लुम्बिनी प्रदेश सरकारमा एमालेका मुख्यमन्त्रीसहित ५ जना मन्त्री, नेपाली कांग्रेसबाट ५ जना तथा जनता समाजवादी पार्टी (जसपा)बाट १ जना मन्त्री छन्। साना दलका लागि मन्त्रालय खाली राखिएकोमा लोसपा प्रवेशसँगै एक मन्त्रालय पाण्डेलाई दिइनेछ।