उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव २०८२ को भव्य तयारी सुरु

एक हजार क्षमताको धर्मशाला, सभाहल, यज्ञशाला, गौशालासहित स्थायी संरचना निर्माणको योजना

by समतल अनलाइन
107Shares

बुटवल। गण्डकी क्षेत्रको आध्यात्मिक महिमालाई विश्वभर प्रवर्द्धन गर्दै धार्मिक पर्यटन विस्तार गर्ने उद्देश्यसहित आगामी उत्तर गण्डकी महामेला दामोदर धर्मोत्सव–२०८२ को तयारी सुरु गरिएको छ।

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानको आयोजनामा हुने उक्त महामेला स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा र पाल्पाको रम्भा गाउँपालिका–१ को संगमस्थल उत्तरवाहिनी (कालीगण्डकी किनार) क्षेत्रमा असोज १९ गतेदेखि कार्तिक १९ गतेसम्म आयोजना हुने भएको हो।

शनिबार तिलोत्तमा नगरपालिकामा सम्पन्न तयारी भेलामा बोल्दै स्वामी लोकानन्द महाराजले धर्मोत्सवले नेपालको धार्मिक पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे। उनले सबैलाई आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरे।

भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले धार्मिक पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्न सकिने भन्दै, देश–विदेशबाट आउने गुरु तथा भक्तजनलाई अन्य तीर्थस्थलहरूसमेत घुमाउने खालका तयारी गर्नुपर्ने बताए।

गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले धार्मिक स्थलहरूलाई पर्यटन गन्तव्यसँग जोड्ने गरी प्रदेश सरकारले विशेष योजना अघि सारेको जानकारी दिए।

लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले महामेलालाई राष्ट्रिय महोत्सवको रूपमा अघि बढाउनुपर्ने धारणा राखे। कार्यक्रम संयोजक रामप्रसाद बश्यालले महामेला सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै सहभागिताको अपिल गरे।

धर्मोत्सवको अवधारणा प्रस्तुत गर्दै ज्योतिष जनार्दन न्यौपानेले महामेलाले स्थानीय कृषि उत्पादन र घरेलु उद्योगको बजार विस्तारमा समेत टेवा पुर्‍याउने बताए।

कालीगण्डकी ज्ञानविज्ञान प्रतिष्ठानका अध्यक्ष आचार्य चैतन्य कृष्णले भारतको कुम्भमेलाजस्तै यस महामेलाले पनि नेपालको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेल्ने दाबी गरे। उनले छोटो समयमै आवासगृह, स्वागत सत्कार, सुरक्षा, यातायात, भोजन, पूजा सामग्री लगायत सम्पूर्ण व्यवस्थापनका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए। नेपाल र भारतका प्रतिष्ठित गुरुहरूको उपस्थिति रहने र भक्तजनका लागि देवघाट, रुरुक्षेत्र, सेतीवेणी शीला, मुक्तिनाथ जस्ता तीर्थस्थल दर्शनको व्यवस्था गरिने जानकारी उनले दिए।

प्रतिष्ठानका संरक्षक शंकर प्रसाद पाण्डेले गण्डकी क्षेत्रको प्रस्तावित गुरुयोजना अनुसार एक हजार क्षमताको धर्मशाला, सभाहल, यज्ञशाला, गौशाला, घाट व्यवस्थापन र पाठशाला निर्माणको योजना रहेको जानकारी दिए।

तयारी भेलामा पूर्वमन्त्री पद्मा अर्याल, संविधानसभा सदस्य मुक्तिप्रसाद पाठक, गण्डकी प्रदेशसभा सदस्य महेश भट्टराई, लुम्बिनी प्रदेशसभा सदस्य राजुप्रसाद श्रेष्ठ, बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेय, सुनवल नगर प्रमुख बिमला अर्याल, रम्भा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारी, गल्याङ नगर प्रमुख कुलप्रसाद भट्टराई, नेपाल चेम्बर अफ कमर्श लुम्बिनी अध्यक्ष टंक पोखरेल लगायतले महामेलामा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

धार्मिक विश्वास अनुसार उत्तरवाहिनी क्षेत्रमा दर्शन तथा स्नान गरे सम्पूर्ण पाप नष्ट हुने जनविश्वास छ। महामेला अवधिभर ५ अर्ब तुलसीदल, गाईको दूध र गण्डकी जलद्वारा १ लाख २५ हजार शालग्राम भगवानको अभिषेक पूजन, डुंगा र स्टीमरमार्फत गण्डकी भ्रमण, दामोदर कथा, दीपदान, श्रृंगारिक आरती, गुरुहरूद्वारा आशीर्वचन, उत्तरवाहिनी महास्नान, तर्पण, परिक्रमा, तीर्थश्राद्ध, श्रीकृष्णलीला, रामलीला, योग तथा बाल संस्कार प्रशिक्षण, हरिनाम संकीर्तन, मातापिता पूजन लगायत विविध कार्यक्रमहरू सञ्चालन हुने छन्।

त्यस्तै, महामेलामा राष्ट्रिय लोकभजन प्रतियोगिता, वतृत्वकला, निबन्ध, कविता, हाजिरीजवाफ तथा टिकटक प्रतियोगिता समेत गरिने जानकारी संस्कृतिविद् डा. तुलसी प्रभासले दिए।

साथै, सन्तहरूको साथमा देश–विदेशका वैज्ञानिकहरू पनि विचार गोष्ठीमा सहभागी भई धर्मको वैज्ञानिक पक्षमाथि विचार–विमर्श गर्नेछन्। धार्मिक र वैज्ञानिक दुवै क्षेत्रका विशेषज्ञहरूले एउटै मञ्चबाट विश्वलाई नयाँ सन्देश दिन महामेलाको उद्देश्य रहेको आयोजक संस्थाको भनाइ छ।

भेलाले महामेलाको प्रचारप्रसारका लागि रुपन्देही, नवलपरासी र कपिलवस्तु जिल्लामा अभियान सञ्चालन गर्न संयोजकमा रामप्रसाद बश्याल, सह–संयोजकमा शंकरप्रसाद बश्याल, सचिवमा डिल्लीनारायण पाण्डे र कोषाध्यक्षमा शोभाखर भण्डारीसहित समिति गठन गरिएको जानकारी गराइएको छ।

You may also like