एभरेष्ट माविमा कक्षा ११ का नव विद्यार्थीका लागि स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

by समतल अनलाइन
Shares

बुटवल ।बुटवलको सुख्खानगरस्थित एभरेष्ट इङ्लिस माविले कक्षा ११ मा अध्ययन गर्न आएका नव विद्यार्थीहरुलाई लक्षित गरी स्वागत तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ।

विद्यालयमा सञ्चालित विज्ञान र व्यवस्थापन संकायमा भर्ना भएका करिब ५०० विद्यार्थीलाई उच्च शिक्षाको सुरुवातसँगै शुभकामना, सम्मान तथा जानकारीमूलक अभिमुखिकरण दिइएको हो।

विद्यालय सञ्चालक समिति अध्यक्ष गमप्रसाद रेश्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा लुम्बिनी प्रदेश परीक्षा व्यवस्थापन कार्यालयका प्रमुख रमाकान्त तिवारीले विद्यार्थीलाई अनुशासित, मेहनती र लगनशील भएर पढ्न सुझाव दिनुभयो। उहाँले प्रविधिको विकाससँगै अनुसन्धनात्मक र खोजमूलक शिक्षा आवश्यक भएको उल्लेख गर्दै, अध्यापन पद्धति पनि सोही अनुसारको हुनुपर्नेमा जोड दिनुभयो।

कार्यक्रममा बुटवल उपमहानगरपालिका–८ का वडाध्यक्ष यज्ञप्रसाद पंगेनी, एन प्याब्सनका केन्द्रीय उपमहासचिव कृष्णप्रसाद पौडेल र विष्णुप्रसाद पौडेल, अभिभावक संघ नेपालका केन्द्रीय सदस्य लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनी प्रदेश अध्यक्ष लालहरी पाण्डे, प्रहरी सहायक निरीक्षक खगेन्द्र पराजुली, विद्यालयका प्राचार्य कृष्ण न्यौपानेलगायतले मन्तव्य राख्दै विद्यार्थीलाई परिश्रमी, प्रतिबद्ध र जिम्मेवार बन्न प्रेरणा दिनुभयो।

कार्यक्रममा चेतना विकास फाउण्डेशनका कार्यकारी प्रमुख कमल शिलवालले सहजीकरण गर्नुभएको थियो। उहाँले अभिभावक, शिक्षक र विद्यार्थी सबैले आफ्नो भूमिका जिम्मेवारीपूर्वक निर्वाह गरे मात्र शिक्षाको लक्ष्य प्राप्त हुने धारणा राख्नुभयो।

विद्यालयका सहप्राचार्य भिमसेन गौतमका अनुसार कार्यक्रममा विद्यार्थीलाई जीवनशैली, अनुशासन र शैक्षिक वातावरणबारे जानकारी दिइएको थियो। कार्यक्रममा विज्ञान संकाय संयोजक डा. शालिकग्राम भण्डारीले स्वागत मन्तव्य राख्नुभयो भने सञ्चालन शिक्षक माधव पौडेलले गर्नुभएको थियो।

सो अवसरमा विद्यालयबाट अध्ययन पूरा गरी हाल डाक्टर, इन्जिनियर, सरकारी सेवामा कार्यरत तथा विभिन्न क्षेत्रमा सफलता हासिल गरेका पूर्वविद्यार्थीलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको विद्यालयका लेखा प्रमुख ठाकुर ज्ञवालीले जानकारी दिनुभयो।

You may also like

This will close in 0 seconds