काठमाडौं । क्यान्सर उपचारका अत्यावश्यक औषधिहरू हस्तान्तरण गरिएको छ । आइतवार बिहान स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा सात करोड मल्य पर्ने क्यासरको औषधि हस्तान्तरण गरिएको हो । अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था ‘डाइरेक्ट रिलिफ’ को सहयोग तथा ‘वान हार्ट वल्र्डवाइड’ को समन्वयमा क्यान्सर उपचारमा प्रयोग हुने अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरू नेपाल ल्याइएको थियो ।
ती औषधि तथा स्वास्थ्य सामग्रीहरु असार २७ गते शुक्रबार नेपाल आईपुगेका थिए । अन्तर्राष्ट्रिय च्यारिटी डाइरेक्ट रिलिफले ३७ प्रकारका औषूधि सहयोग गर्ने प्रतिबद्धता जनाएअनुसार पहिलो खेपको औषधि नेपाल आइपुगेको छ । डाइरेक्ट रिलिफले स्तन, छाला तथा विभिन्न खालका क्यान्सर उपचारमा आवश्यक पर्ने दुर्लभ र महँगा ती औषधी नेपालको आवश्यकताअनुसार ५ वर्षसम्म सहयोग गर्ने प्रतिवद्धता जनाएको छ ।


स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाले सोही दिन उक्त औषधि भण्डारण गरेको थियो । औपचारिक रुपमा आज मन्त्रालयलाई हस्तान्तरण गरिएका ती औषधि र स्वास्थ्य सामग्रीहरु आजै क्यान्सर उपचारमा संलग्न चार अस्पतालहरु विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुर, भक्तपुर क्यान्सर अस्पताल, भक्तपुर, शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल बाँके र वीर अस्पताल काठमाडौंलाई हस्तान्तरण गरिएको छ ।
स्तन क्यान्सर, प्लाक सोरियासिस, अल्जाइमर आदि स्वास्थ्य समस्यामा प्रयोग हुने यी औषधि र स्वास्थ्य सामग्रीहरू यी चार अस्पतालहरूमा क्यान्सरका बिरामीहरूलाई निःशुल्क रुपमा उपलब्ध गराइनेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सम्बन्धित निकायहरुसँगको सहयोग र समन्वयमा यी औषधि तथा स्वास्थ्य सामग्रीहरु भविष्यमा पनि निरन्तर रुपमा उपलब्ध गराउने गरी पहल गरिरहेको स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बताए ।
उनका अनुसार आवश्यक औषधिको सची तयार गरी सम्बन्धित संस्थालाई पठाइएको थियो । सोहि आधारमा पाँच वर्षको लागि औषधि दिने प्रतिवद्वता समेत गरिएको छ । ‘क्यान्सरको उपचार निकै महँगो छ, विरामीले औषधि किन्न नसक्ने अवस्था छ, हामीले पहल गरेपछि प्राप्त भएको यो औषधिले विरामीलाइ राहत हुनेछ’ स्वास्थ्यमन्त्री पौडेलले भने, ‘यसमा सहयोग गर्नु हुने सबैमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय हार्दिक धन्यवाद व्यक्त गर्दछ ।’