काठमाडौं । नेपालले एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग प्रतिस्पर्धा गर्ने भएको छ । यो रोमाञ्चक फाइनल खेल शनिबार हुने तय भएको छ ।
बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भिडन्त पक्का गरेको हो । १६९ रनको लक्ष्य पछ्याएको सिंगापुरले ३८.५ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पूरा गर्यो ।


यसअघि आजै सम्पन्न पहिलो सेमिफाइनलमा नेपालले मलेसियालाई एकतर्फी दबाबमा राख्दै ९ विकेटले पराजित गर्दै उपाधितर्फको बाटो तय गरेको थियो । यसअघि समूह चरणमै नेपालले सिंगापुरलाई ६ विकेटले हराएको थियो, जसले नेपाललाई मनोवैज्ञानिक बढ़त पनि दिलाएको छ ।
नेपाल यो प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत हो । अघिल्लो संस्करणमा नेपालले मलेसियामाथि २२१ रनको विशाल जित निकाल्दै उपाधि जितेको थियो । त्यसैको पुनरावृत्तिका लागि नेपाली टिम शनिबार मैदान उत्रन लागिरहेको छ ।