बुटवल ।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपुरको दुम्किबासस्थित विनयी खोलामा निर्माण गरिएको नयाँ पक्की पुल आज (बिहीबार) देखि सवारी सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भरतपुरका अनुसार भर्खरै सम्पन्न निर्माणपछि आजबाट पुल सञ्चालनमा ल्याइएको हो। यसअघि सोही स्थानमा रहेको पुल अधिक भारका कारण क्षति हुँदा सवारी आवागमन बन्द गरिएको थियो।


पुल क्षति भएपछि डिभिजन कार्यालयले अस्थायी डाइभर्सन निर्माण गरी यातायात सुचारु गरेको थियो। तर, लगातारको वर्षासँगै आएको बाढीले उक्त डाइभर्सन ९ पटकसम्म बगाएको थियो।
“नयाँ पुल तयार नभएसम्म सुरक्षित यात्रा गर्न वैकल्पिक मार्ग प्रयोग गर्न सूचना जारी गरिएको थियो,” डिभिजन कार्यालयले जनाएको छ, “अब नवनिर्मित पुलबाट नै सवारीसाधन सञ्चालनमा आउनेछ।”
विनयी खोलामा आएको बाढीका कारण अघिल्लो साता यात्रु बोकेको बससमेत बगेको थियो। त्यसपछि स्थानीयवासी तथा यात्रुहरूमा चिन्ता बढेको थियो। अहिले नयाँ पुल सञ्चालनमा आएपछि जनताले सहज यात्रा गर्न पाउने विश्वास गरिएको छ।