नेपालको गोल वर्षा : श्रीलंकाविरुद्ध पहिलो हाफमै ४–० को अग्रता, सावित्राको ह्याट्रिक

by समतल अनलाइन
Shares

काठमाडौ । नेपालले उज्बेकिस्तानमा जारी एएफसी महिला एसियन कप छनोटको समूह ‘एफ’ अन्तर्गत दोस्रो खेलको पहिलो हाफमा श्रीलंकाविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै ४–० को सशक्त अग्रता बनाएको छ। तास्केन्तस्थित मिल्ली स्टेडियममा भइरहेको खेलमा कप्तान सावित्रा भण्डारी साम्बाको ह्याट्रिक र गीता रानाको एक गोलले नेपाललाई पहिलो हाफमै स्पष्ट नेतृत्व दिलाएको हो।

खेलको सुरुवाती क्षणमै नेपालले दबाब सिर्जना गर्‍यो। सातौँ मिनेटमा डिफेन्डर गीता रानाले गोल गर्दै नेपाललाई सुरुवाती अग्रता दिलाइन्। त्यसपछि खेलको २०औं मिनेटमा कप्तान सावित्राले गोल थपिन् र अग्रता दोब्बर बनाइन्। सावित्राले ४२औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् भने पहिलो हाफको इन्जुरी समयमा ह्याट्रिक गर्दै नेपाललाई ४–० को अग्रता दिलाइन्। सावित्राको यो ह्याट्रिक नेपालका लागि अन्तर्राष्ट्रिय स्तरमा निरन्तर प्रभावशाली प्रदर्शनको प्रतीक बनेको छ।

यसअघि नेपालले पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित दर्ता गरेको थियो। दोस्रो खेलमा पनि नेपालले सोही लय कायम राख्दै गोल वर्षा गरेको छ। समूह ‘एफ’ को शीर्ष स्थान हासिल गर्ने टोलीले सन् २०२६ मा हुने एएफसी महिला एसियन कप फुटबलका लागि स्थान बनाउने छ, जुन आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रवेशको ढोका पनि हुनेछ।

नेपालको आजको पहिलो हाफको प्रदर्शनले टिमको मनोबल उच्च रहेको संकेत दिएको छ, जसले शेष खेलमा पनि यस्तै धारिलो खेल देखाउने अपेक्षा गरिएको छ।

You may also like

This will close in 0 seconds