ताप्लेजुङ । कुलोको पानी थुनिएर गएको पहिरोले घर भत्किँदा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–३ आङखोपमा एक परिवारका तीन जना घरभित्रै थुनिएका थिए। स्थानीय गाउँलेको सक्रियतामा उनीहरूलाई सकुशल उद्धार गरिएको छ।
घटनामा ६१ वर्षीय हस्तबहादुर कटुवाल, उनकी श्रीमती ठगमाया कटुवाल र छोरी सम्झना कटुवाल घरभित्र थुनिएका थिए। बुधबार राति १ बजे घरमाथिको कान्लो भत्किएर आएको पहिरोले घर पुरिएको थियो।


घर भत्किएको ठूलो आवाजपछि मटानमा सुतेका छोराबुहारी ब्युँझिएर गाउँमा होहल्ला गरेपछि स्थानीय गाउँले भेला भएर तीनै जनालाई राति नै उद्धार गरेका थिए।
उक्त घटनामा ठगमाया कटुवाल घाइते भएकी छन्। घरको दलिन र ढुङ्गाले लागेर चोट लागेकी उनलाई थप उपचारका लागि गाउँबाहिर लैजाने तयारी भइरहेको जनाइएको छ। अन्य दुई जना – हस्तबहादुर र उनकी छोरी सम्झनालाई सामान्य चोटपटक लागेको छ। सिदिङ्वा गाउँपालिका केन्द्र साव्लाखु भञ्ज्याङबाट आएका स्वास्थ्यकर्मीले ठगमायाको प्रारम्भिक उपचार गरिरहेका छन्।
छिमेकी मौसम लिम्बूका अनुसार, पहिरोले पुरिएको घरमा हस्तबहादुर दम्पती बस्ने र त्यहीँ खाना पकाउने गर्थे, भने मटानमा छोराबुहारी बस्ने गर्थे। घटनामा बस्ने व्यवस्था यथावत रहे पनि खानपानका लागि प्रयोग हुने सम्पूर्ण सामग्री– खाद्यान्नदेखि भाँडावर्तनसम्म नष्ट भएको उनले बताए।
स्थानीयवासीको समयमैको सक्रियताले ठूलो दुर्घटना टरेको भन्दै गाउँमा राहत तथा पुनःस्थापना पहल आवश्यक भएको माग गरिएको छ।