राष्ट्रियसभा बैठक आज अपराह्न ११ः१५ बजे, आर्थिक विधेयकहरूमाथि छलफल र पारित गर्ने कार्यसूची

by समतल अनलाइन
Shares

काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज (मंगलबार) अपराह्न ११ः१५ बजे संघीय संसद भवन, नयाँ बानेश्वरमा बस्दैछ। बैठकमा अर्थतन्त्रसँग सम्बन्धित महत्वपूर्ण विधेयकहरू माथि छलफल र पारित गर्ने कार्यसूची तय गरिएको छ।

आजको बैठकमा विनियोजन विधेयक, २०८२ अन्तर्गत राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालयसहित विभिन्न मन्त्रालयहरूमाथि संसदमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको छ।

यस्तै, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव संसदसमक्ष पेश गर्नेछन्।

अर्थमन्त्री पौडेलले नै ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने तय भएको छ। त्यसैगरी, प्रतिनिधिसभाबाट सन्देशसहित आएको ‘भन्सार विधेयक, २०८०’ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले संसदमा पेश गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद सचिवालयका महासचिव पद्यमप्रसाद पाण्डेयले जानकारी दिएका छन्।

त्यसैगरी, राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची समेत बैठकमा समावेश गरिएको छ।

आजको बैठकले आगामी आर्थिक वर्षका लागि विनियोजन तथा आर्थिक व्यवस्थापनसँग सम्बन्धित विधेयकहरू पारित गर्न महत्वपूर्ण आधार तय गर्ने अपेक्षा गरिएको छ।

You may also like

This will close in 0 seconds