बुटवल । बुटवलमा आज (असार १८ गते) “बुटवल रोजगार मेला २०८२” भव्य रूपमा सञ्चालन हुँदैछ । बुटवल उपमहानगरपालिकाको आयोजनामा हुन लागेको एकदिने मेलामा रोजगारदाता, सीप तालिम प्रदायक संस्था र रोजगार खोजिरहेका युवाबीच प्रत्यक्ष समन्वय गरिनेछ ।
कालिकानगरस्थित दियालो फुडल्यान्डमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको उपमहानगरका प्रवक्ता शिव रानाले जानकारी दिएका छन् । मेलामा विभिन्न क्षेत्रका उद्योग, कम्पनी, संघसंस्था तथा तालिम प्रदायकहरूको उपस्थिति रहनेछ ।


मेलाको उद्देश्य रोजगारीको खोजीमा रहेका युवाहरूलाई उपयुक्त रोजगारीमा पहुँच दिलाउनु र कामदार अभाव भोगिरहेका रोजगारदाता कम्पनीहरूलाई आवश्यक जनशक्ति उपलब्ध गराउनु रहेको छ । उपमहानगरले आर्थिक समृद्धिको बाटो रोजगारी र सीप विकासमार्फत खोल्न सकिने विश्वासका साथ रोजगार मेलाको आयोजना गर्दै आएको हो ।
“समानता, स्वाभिमान र अवसर–बस्नयोग्य बुटवल शहर” को लक्ष्यलाई मूर्तरूप दिन यो मेला प्रभावकारी हुने अपेक्षा गरिएको छ । रोजगार शाखा प्रमुख अरविन्द्र पाण्डेका अनुसार उद्योग, व्यवसाय, कृषि, पर्यटन, प्रविधि, सेवा र उत्पादन क्षेत्रसँग सम्बन्धित रोजगार तथा तालिमका अवसरहरू मेलामा उपलब्ध हुनेछन् ।
मेलामा सहभागी सबै रोजगारदाता र तालिम प्रदायक संस्थाको विवरण संकलन गरी ‘बुटवल रोजगार पोर्टल’ मा अभिलेखिकरण गरिनेछ । यसबाट भविष्यमा समेत समन्वय तथा अवसरको खोजी सजिलो हुने विश्वास लिइएको छ ।
सामाजिक महाशाखा प्रमुख तुल्सा अर्यालका अनुसार मेलामा वृत्ति विकास र सीपमूलक तालीमसम्बन्धी परामर्श सेवा पनि उपलब्ध हुनेछ । निःशुल्क तालिमबारे जानकारी दिइने र विज्ञमार्फत युवालाई मार्गदर्शन गरिने कार्यक्रम तय गरिएको छ ।
विदेशिनुका सट्टा स्वदेशमै अवसर खोज्नुपर्ने सन्देशसहित आयोजित यो मेलाले युवालाई सीप, जानकारी र सम्भावनाको सही थलोमा पुर्याउने अपेक्षा गरिएको छ ।
गत वर्षको मेलाबाट ३८ जना युवाले प्रत्यक्ष रोजगारी पाएका थिए भने यस वर्ष सयौं युवालाई रोजगारीमा जोड्ने लक्ष्य उपमहानगरपालिकाले लिएको छ ।
बुटवल उपमहानगरका अनुसार आजको मेला बुटवलको आर्थिक, सामाजिक र मानवीय विकाससँग जोडिएको महत्वपूर्ण पहल हो, जसले रोजगारका विविध सम्भावनालाई एकैथलोमा ल्याउँदै शहरमै रोजगारी सिर्जना गर्न प्रेरणा दिनेछ ।