काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्ता गठबन्धनको विकल्प खोजे गन्तव्यमा नपुगिने बताएका छन् । सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा बोल्दै दुईटा पार्टीबीचमा समस्या देखिए पनि सल्लाह गरेर अघि बढ्नुपर्ने बताएका हुन् ।उनले भने, ‘सरकार सञ्चालन गर्ने क्रममा कुनै समस्या छैन । दुवै पार्टीको तर्फबाट उच्चस्तरीय संयन्त्रले काम गरिरहेको छ । त्यसैले हामीले हाम्रो प्रभावकारीता बढाउँनुपर्छ, विकल्प खोजे कांग्रेसलाई हित गर्दैन ।’


उनले सरकार सही ढंगले अघि बढाउन कोसिस अहिलेको सरकारलाई नै निरन्तरता दिनुपर्ने बताए । भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नभएको प्रष्टीकरण दिँदै आफूविरुद्ध प्रतिशोध साँध्ने गरी प्रचार भएको समेत बताए । ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयको विषयलाई लिएर विभिन्न प्रचार भइरहेको छ । यसबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ । केही कर्मचारी र केही निजी क्षेत्रका मान्छेहरूमाथि अनुसन्धान भइरहेको छ । अख्तियारले अनुसन्धान सुरु गर्ने वित्तिकै म संलग्न भएको जसरी प्रचार गरियो,’ उनले भने, ‘म के निवेदन गर्न चाहन्छु भने यो राजनीतिक संयन्त्रले प्रतिशोध साँध्ने गरी गरेको प्रचारको विषय हो ।’


उनले अख्तियारले सम्बन्धित कार्यालयमा अख्तियारले अनुसन्धान जारी राखेको र आवश्यक दस्तावेज पनि नियन्त्रणमा लिएको सुनाए । उनले भिजिट भिसा प्रकरणमा आफू संलग्न नभएको भन्ने बारे प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बुझेको तर अरु दलले नबुझेको पनि बताए । ‘प्रमुख प्रतिपक्षी दल यसमा कन्भिन्स भएको छ । अरुले कुरा बुझ्नु भएको छैन । राजनीतिक ढंगले अघि बढाउनु उचित हुँदैन,’ उनले भने, ‘सरकार सञ्चालनमा कुनै गाह्रो–अप्ठ्यारो छैन ।’