जन्मदिनमा फजुल खर्च नगरी जापानवासी ध्रुव कंडेलद्वारा मानव सेवा आश्रमलाई सामग्री सहयोग

by समतल अनलाइन
Shares

बुटवल। रोजगारीको सिलसिलामा जापानमा रहेका रुपन्देही शुद्धोधन गाउँपालिका निवासी २६ वर्षीय ध्रुव कंडेलले आफ्नो जन्मदिनलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नेपालस्थित मानव सेवा आश्रमलाई करिब २० हजार रुपैयाँ बराबरको सामग्री सहयोग गरेका छन्।

सानै उमेरदेखि सहयोगी भावना बोकेर अघि बढ्दै आएका कंडेल समाजसेवी कार्यमा प्रेरित छन्। उनी नेपाली समाजसेवी सुशान्त आचार्यबाट प्रभावित भएको बताउँछन्। सुशान्तले गरेका सेवामूलक कामले आफूलाई गहिरो रूपमा छोएको र त्यही बाटोमा लाग्ने प्रेरणा मिलेको उनी सुनाउँछन्।

कंडेलले जन्मदिनमा हुने अनावश्यक खर्चलाई रोक्दै त्यो खर्च असहाय र बेसहाराहरूको सेवामा लगाउनु पर्ने सोच राख्छन्। “जन्मदिन रमाइलोभन्दा पनि अर्थपूर्ण बनाउन सकिन्छ। यदि हामी सबैले सहयोगी सोच अपनायौं भने समाजमा कुनै पनि व्यक्ति अनाथ वा असहाय बन्नुपर्ने अवस्था आउँदैन,” उनले भने।

उनको यस सकारात्मक सोच र कार्यप्रति मानव सेवा आश्रमले आभार व्यक्त गरेको छ। आश्रमले कंडेलजस्तै सोच भएका युवाहरूको संख्या बढ्दै गएमा समाजमा दिगो र सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेको छ।

You may also like