बुटवल। आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत स्कटल्याण्ड र नेपालबीच डन्डीस्थित फोर्टहिल मैदानमा आइतबार भएको खेलमा घरेलु टोली स्कटल्याण्डले नेपाललाई ३२४ रनको विशाल लक्ष्य दिएको छ।
टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३२३ रन बनायो। टोलीका लागि कप्तान रिची ब्यारिङ्टनले उत्कृष्ट प्रदर्शन गर्दै शतक पूरा गरे। उनले ११४ बलमा ६ चौका र ४ छक्कासहित १०२ रन बनाए।
उनलाई साथ दिएका माइकल लिस्कले विस्फोटक पारी खेल्दै अविजित ९६ रन जोडे। उनले ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गर्दै स्कटल्याण्डलाई उच्च योगफलमा पुर्याए।
नेपालका लागि दीपेन्द्रसिंह ऐरी र करण केसीले समान २–२ विकेट लिए भने ललित राजवंशीले १ विकेट हात पारे।
नेपाल यसअघि यो श्रृङ्खलाको पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो। त्यसपछि दोस्रो खेलमा उसले नेदरल्याण्ड्सलाई ५ विकेटले पराजित गरेको थियो।
हालसम्मको लिग अंकतालिका हेर्दा नेपालले १४ खेलमा १० अंक जोड्दै सातौं स्थानमा छ। उता, स्कटल्याण्डले १७ खेलबाट २० अंक बटुल्दै चौथो स्थानमा उक्लिएको छ।
आईसीसी विश्वकप लिग २ सन् २०२७ सम्म सञ्चालन हुनेछ। लिगको अन्त्यमा शीर्ष ४ स्थानमा रहने टोलीले सिधै विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछन्। त्यस्तै, पुछारमा रहने ४ टोलीले भने प्लेअफ खेल्दै छनोटको अर्को चरणमा पुग्नुपर्नेछ।
नेपाल अब स्कटल्याण्डले दिएको विशाल लक्ष्य पछ्याउँदै मैदान उत्रने तयारीमा छ।