पाल्पामा कांग्रेसको क्षेत्रीय बैठक : पर्यटन, संगठन र एकतामा जोड

by समतल अनलाइन
Shares

पाल्पा । नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ३ को ३३औं क्षेत्रीय बैठक ऐतिहासिक तथा पर्यटकीय जिल्ला पाल्पामा सम्पन्न भएको छ। ‘घुम्ती बैठक’को रूपमा आयोजना गरिएको उक्त कार्यक्रमले संगठन सुदृढीकरण, अनुभव आदान–प्रदान तथा भावी कार्ययोजना तय गर्ने सन्दर्भमा विशेष योगदान पुर्‍याएको बताइएको छ।

बैठकको उद्घाटन नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले गर्नुभएको थियो। प्रमुख अतिथि श्रेष्ठले कांग्रेस रूपन्देही क्षेत्र नं. ३ ले पाल्पालाई बैठकस्थलको रूपमा रोज्नु आन्तरिक पर्यटन प्रवर्द्धनको दृष्टिले सकारात्मक कदम भएको उल्लेख गर्नुभयो। “यस्ता कार्यक्रमले पाल्पाको पर्यटन, संस्कृति र पहिचान प्रवर्द्धनमा टेवा पुग्नुका साथै क्षेत्रीय एकता र सहकार्यको सन्देश दिन्छ,” उहाँले भन्नुभयो।

सभापति श्रेष्ठले पार्टीलाई बलियो बनाउने उद्देश्यले अब बहसलाई अधिवेशनमा सीमित नराखी संगठनमुखी सोच विकास गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। टिकट वितरणमा गुट, समूहभन्दा योगदान, निष्ठा र लोकप्रियतालाई आधार बनाउनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो। पार्टी पदाधिकारी र जनप्रतिनिधिप्रति सम्मानजनक व्यवहार र सहयोगी संस्कार विकास भएमा कांग्रेस आगामी निर्वाचनमा पनि प्रमुख शक्ति बन्न सक्ने उहाँको भनाइ थियो।

रूपन्देही क्षेत्र नं. ३ का क्षेत्रीय सभापति सुशील गुरुङले गत वर्ष स्याङ्जाको सिरुवारीमा बैठक सम्पन्न भएको जानकारी दिँदै यसपालि पाल्पालाई आन्तरिक पर्यटन प्रवर्द्धनका लागि रोजिएको बताउनुभयो। “यो बैठक केवल सांगठनिक समीक्षा मात्रै होइन, अनुभव र योजनाहरू साझा गर्ने अवसर पनि बनेको छ,” उहाँले भन्नुभयो।

बैठकमा क्षेत्रीय कोषाध्यक्ष कृष्णप्रसाद खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। उहाँले पारदर्शिता र जवाफदेहिताका लागि नियमित लेखाजोखा आवश्यक रहेको धारणा राख्नुभयो।

कार्यक्रममा उपसभापति सुरेन्द्रजंग थापा, धनश्याम चालिसे, सचिव भवानीप्रसाद शर्मा, सहसचिव चिरञ्जीवी ढकाल, सदस्यहरू रमेश मल्ल, रामप्रसाद पौडेल, इन्दिरा केसी, पुनम सुनार, केशवप्रसाद अधिकारी, राधिका घर्ती मगर, रूपमाया पुन, शोभा आचार्य, यमबहादुर बुढा, रामवृक्ष अहिर, सजिव दमाई, घनश्याम यादव, पल्टन थारू, सरस्वती श्रेष्ठलगायतको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम सचिव लेखनाथ भट्टराईको सञ्चालनमा सम्पन्न उक्त बैठकमा संगठन विस्तार, महिला र युवा सहभागिता अभिवृद्धि, आगामी रणनीति तथा सांगठनिक सुदृढीकरणसम्बन्धी विषयमा गहिरो छलफल भएको थियो। सहभागीहरूले यस्ता बैठकले पार्टीको जरा तहसम्मको संरचना सुदृढ बनाउनुका साथै स्थानीयस्तरमा जनसम्पर्क विस्तारमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

बैठकले नेपाली कांग्रेस रूपन्देही क्षेत्र नं. ३ भित्रको सांगठनिक संरचना थप सुदृढ गर्दै पार्टीको भूमिकालाई प्रभावकारी बनाउने निष्कर्ष निकालेको छ।

You may also like

This will close in 0 seconds