कांग्रेसप्रति प्रधानमन्त्रीको कटाक्ष : घरझगडा घरभित्रै गर्नुस्, आँगनमा तमासा नगर्नुस्

Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार कांग्रेसका नेताहरूलाई सार्वजनिक रूपमा झैझगडा नगर्न सुझाव दिएका छन् । एमाले अध्यक्ष समेत रहेका ओलीले पार्टीभित्रका आन्तरिक कुरालाई सार्वजनिक बहसमा ल्याएर विवाद नगर्न सुझाव दिएका हुन् ।

गृहमन्त्री रमेश लेखकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा प्रकरणमा जोडेर कांग्रेसकै नेताहरूले राजीनामा माग गरेको सन्दर्भ उठाउँदै प्रधानमन्त्री ओलीले सत्ता साझेदार कांग्रेसका नेताहरुप्रति कटाक्ष गरेका हुन्।प्रधानमन्त्री ओलीले सबै पार्टीभित्र समस्या हुनसक्ने र त्यसको समाधान आन्तरिक रूपमा नै गर्नुपर्ने बताएका छन् ।

‘पार्टीभित्र केही समस्या हुन सक्छ। त्यो पार्टीको समस्या, व्यक्तिगत ‘लाइक, डिस्लाइक’ भन्दा पनि पार्टीभित्रका व्यैक्तिक आकांक्षाहरूले ध्रुवीकरण अथवा अरु कुनै कारणले केही पार्टीभित्र हुनसक्छ तर दल र दलका नेताहरूले त्यो कुनै पनि पार्टी, मेरो पार्टीको वा अर्को पार्टीको कसैको घरझगडा घरभित्र बसेर गर्नुस्, आँगनमा निस्केर तमासा गरेर छिमेकीलाई डिस्टर्ब नगर्नुस्,’ प्रधानमन्त्रीले भने ।

‘तपाईको घरझगडा छ भने घरभित्र बसेर गर्नुस्, मज्जाले गर्नुस्, घरभित्र कुटाकुट चाहिँ नगर्नुहोला तर आँगनमा निस्केर वल्लो छिमेकी पल्लो छिमेकी सबैको काम डिस्टर्ब नगर्नुस्,’ प्रधानमन्त्रीले भने, ‘के भयो, के–के न होला, त्यहाँ सतर्क भएर हेर्नु पनि पर्ला, कुटाकुट गरे, मारामार गरे भने त छुट्याउन जानुपर्ने अवस्था होला । त्यसो भएकाले आँगनमा निस्केर झगडा गर्नु राम्रो होइन ।’ विपक्षी दलहरूले आधारहीन आरोप लगाएर गृहमन्त्रीको राजीनामा मागिरहेको बताउँदै त्यसमा नलाग्न कांग्रेसका नेताहरूलाई प्रधानमन्त्रीले सुझाव दिएका छन् ।

You may also like

This will close in 0 seconds