बुटवल ।१८ औं गणतन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस, क्षेत्र नं. ३, रुपन्देहीको आयोजनामा ओमसतिया गा.पा. वडा नं. ४, बालापुरमा अवस्थित सत्यसाई वृद्धाआश्रमका बुवा–आमालाई ‘खाना खुवाउने, नगद तथा पंखा हस्तान्तरण कार्यक्रम’ सम्पन्न भएको छ ।
कार्यक्रम नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं ३ का क्षेत्रीय सभापति युवा नेता सुशील गुरुङ्गको सभापतित्व तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य, पुर्वमन्त्री लुम्बिनी प्रदेशसभा सदस्य माननीय अब्दुल रज्जाकको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा प्रमुख आतिथी रज्जाकले लोकतान्त्रिक गणतन्त्रको कुनै पनि विकल्प नरहेको, कुनै नेताको कमी–कमजोरी र गरेका गल्तीलाई व्यवस्थासँग जोडेर हेर्न नहुने बताए । साथै जनताले गरेका जनआन्दोलनका परिणाम स्वरुप यो देशमा जनताका छोरा–छोरी राष्ट्र प्रमुखको रुपमा स्थापित हुने अवसर गणतन्त्रले दिएकोले सानातिना आँधीवेरीले यसलाई फरक नपर्ने विचार राखेका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका पुर्व जिल्ला सभापति रामचन्द्र ढकाल, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख उमाकान्त चापागाई, श्री सत्यसाई वृद्धाआश्रमकी अध्यक्ष माया खरेल, महाधिवेशन प्रतिनिधि महेन्द्र कुमार श्रेष्ठ, क्षेत्र नं. ३ (क) का कार्यबाहक सभापति गोबिन्द प्रसाद बस्याल, जिल्ला सदस्य ओम कुमार श्रेष्ठ, सिद्धार्थनगरका उपसभापति देवराज न्यौपाने, सिद्धार्थनगर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष पुरन प्रसाद श्रेष्ठ, सिद्धार्थनगर वडा नं. ७ का वडा सभापति भविलाल पौडेल लगायतले गणतान्त्रिक व्यवस्थालाई जनताको हकहित, अधिकारका पक्षमा समर्पित बनाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा वृद्धाश्रमका बुवा–आमालाई विहानको खाना, ४ थान सिलिङ्ग पंखा र नगद रु.१५ हजार ५ सय ५५ रुँपिया हस्तान्तरण गरिएको थियो । साथै सोही कार्यक्रममा पार्टीका सिद्धार्थनगरका उपसभापति देवराज न्यौपानेले आफ्नो जन्मदिनको अवसरमा वृद्धाश्रमलाई रु.११ हजार रुँपिया, सिनपा वडा नं ४ का वडा सभापति नरेन्द्र रौनियारले रु.२ हजार १ सय रुँपिया र क्षेत्रीय सदस्य रुपमाया पुनले खाधान्न सामाग्री समेत प्रदान गरेको थियो ।