बुटवल । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि नीति तथा कार्यक्रम आज सोमबार सार्वजनिक गर्दै छ भने प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत पाँचौँ बैठकमा प्रस्तुत गर्नेछन्।
प्रदेश सभा सचिवालयका अनुसार प्रमुखले सभामा सम्बोधन गर्दै सरकारका वार्षिक नीति तथा कार्यक्रमहरू अघि सार्नेछन्। सरकारको दाबी अनुसार कृषि, पर्यटन, उद्योग, पूर्वाधार, शिक्षा, स्वास्थ्य, रोजगार र नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै वास्तविक धरातल र व्यवहारिकतामा आधारित योजना तयार गरिएको छ।
ऐन नीति तथा कार्यक्रममा कृषि पूर्वाधार विस्तार, प्रविधिसहित आधुनिक खेती र बजार सुनिश्चितता, लुम्बिनी र आसपासका गन्तव्य प्रवर्द्धन, होमस्टे तथा सामुदायिक पर्यटन, साना‑मझौला उद्योगका लागि सहुलियत ऋण र औद्योगिक करिडोर, प्राविधिक शिक्षामा जोड, सामुदायिक अस्पताल सुधार, रोजगारी सिर्जनामा अनुदान र सीपमूलक तालिम तथा स्टार्टअप हब र अनुसन्धान कोष जस्ता कार्यक्रमहरू समेटिएका छन्। सांसदहरूले छलफल गरी संशोधन सुझाव दिने क्रमपछि सरकार आगामी असार पहिलो साताभित्र बजेट पेस गर्ने तयारीमा रहेको छ।