गणतन्त्रलाई बलियो धक्का दिने बेला भएको छ : अध्यक्ष लिङदेन

Shares

रूपन्देही । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले संविधान ल्याए भन्नेहरुले नै यो संविधानको उल्लंघन गरिरहेको आरोप लगाएका छन् । उनले आफूहरु यो संविधानमा असहमत र विमति राखेको भए पनि संविधानको पालना गरिरहेको दाबी गरेका छन् ।

राप्रपा सिद्धार्थनगरको नगर अधिवेशनको शनिबार उद्घाटन गर्दै अध्यक्ष लिङदेनले यो संविधानमा राजसंस्था, हिन्दू राष्ट्र चाहिन्छ र संघीयता चाहिँदैन भनेर भन्न पाइँदैन भनेर कहाँ लेखिएको छ भन्दै प्रश्न गरेका छन् । ‘अहिले संविधानलाई आफूखुसी व्याख्या गर्न पाइँदैन र त्यस्तो भन्यो भने संविधानविपरीत हुन्छ भनेर हाम्रा साथीहरुलाई थुनामा राखिरहेका छन्’, उनले भने, ‘अरु पनि मानिसहरुको लिस्ट बनाएर यो सरकार प्रतिशोध साध्न तयार भएर बसिरहेको छ ।’ पूर्व उपप्रधानमन्त्री समेत रहेका लिङदेनले आफ्नो विचार राखेको कारण राजनीतिक दलमाथि प्रतिबन्ध लगाउन नपाइने बताए ।

उनले यो सरकार संविधानविपरीत आफ्नो भ्रष्टाचार छोप्न र सत्ता स्वार्थका लागि अग्रसर भएको र यसले जे पनि गर्ने दाबी गरे । अध्यक्ष लिङदेनले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अदालतले पुर्जी पठाउन नपाउँदै राति ओछ्यानमा गएर तपाईंको अन्तिम इच्छा के छ भनेर सोधिएको बताए ।

विपक्षीहरुको आवाज थुनेर विकासको नाममा सरकारले भ्रष्टाचार गरिरहेको उनको भनाइ छ । भैरहवा विमानस्थलका लागि ३–४ सय विगाह जग्गा चाहिनेमा ८०० विगाहा जग्गा किन खरिद गरियो भन्दै उनले प्रश्न गरे । अध्यक्ष लिङदेनले नेपाली जनताको रगत–पसिनाबाट उठेको करबाट बनाइएको एअरपोर्टको हालत यही हो भन्दै उनले प्रश्न गरे । ‘नेपालमा भ्रष्टाचार गर्न योजना बनाइन्छ, एयरपोर्ट बनाइन्छ, कमिसन खान प्लेन किनिन्छ’, उनले भने, ‘आज देशमा गणतन्त्रको नाममा लुटतन्त्र छ । एक पटक बलियो धक्का दिने बेला भएको छ ।’

अध्यक्ष लिङदेनले नेता सुध्रिए देश सुध्रिन समय नलाग्ने र राप्रपा नेता सुधार्ने अभियानमा लागेको बताए । उनले उपनिर्वाचन जहिले भए पनि आजैदेखि लाग्न नेता–कार्यकर्ताहरुलाई आग्रह गरे । को उम्मेदवार बन्ने भन्नेबारे पार्टीले निर्वाचनको बेला उपयुक्त निर्णय गर्ने उनले बताए । त्यस्तै पार्टीको केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष तथा पूर्वगृहमन्त्री निरञ्जन थापाले मुलुकमा राजसंस्था र हिन्दू राष्ट्र आउने दाबी गरे ।

You may also like

This will close in 0 seconds