औषधि हुने ठाउँमा अनिवार्य रूपमा फर्मासिष्ट हुनुपर्नेमा जोड

Shares

बुटवल। “जहाँ औषधि, त्यहाँ फर्मासिष्ट” भन्ने भनाइलाई ध्यानमा राख्दै नेपाल फार्मेसी संघ, रुपन्देहीले बुटवलमा शनिबार सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनमा फर्मासिष्टको उपस्थिति अनिवार्य हुनुपर्ने माग उठाइएको छ।

कार्यक्रममा विभिन्न वक्ताहरूले औषधिसँग सम्बन्धित हरेक क्षेत्रमा फर्मासिष्टको उपस्थिति आवश्यक रहेको बताएका थिए। उनीहरूले फर्मासिष्ट औषधिको विज्ञ भएकाले सबै पालिकामा अनिवार्य रूपमा फर्मासिष्टको दरबन्दी मिलाउनु पर्नेमा जोड दिए।

बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले फार्मेसी क्षेत्रका लागि फार्मेसी अध्ययन गरेका व्यक्तिलाई मात्र नियुक्त गर्ने प्रवृत्ति बढ्दै गएको बताए। उनले सबै पालिकामा कम्तिमा एक जना फर्मासिष्ट राख्न नीति बनाउनुपर्ने बताए र संघलाई संघीय सरकारसँग पहल गर्न सुझाव दिए।

उनका अनुसार हाल बुटवलका १९ मध्ये १८ वडामा करारमा भए पनि फर्मासिष्ट राखिएको छ। तर दरबन्दी नहुदाँ स्थानीय सरकारलाई कर्मचारी व्यवस्थापनमा कठिनाइ भएको उनले बताए। करारमा राखिएका कर्मचारी हटाउँदा आरोप लाग्ने र नहटाउँदा अपजस भोग्नुपर्ने अवस्था आएको उनले सुनाए।

उहाँले फार्मेसी पढेका दक्ष जनशक्तिको अभाव नरहेको भन्दै औषधिको बिक्री वितरणका लागि अनिवार्य रूपमा फर्मासिष्टको उपस्थिति आवश्यक भएको बताए।

नगरप्रमुख पाण्डेयले बुटवलमा पेचिलो बनेको विज्ञापन करको समस्या समाधानका लागि नयाँ आर्थिक वर्षदेखि सुधार गरिने जानकारी दिए। उनले विज्ञापन कर नबढाउने तर विज्ञापनको दायरा विस्तार गरिने नीति लिएको बताए।

कार्यक्रममा नेपाल फार्मेसी संघका केन्द्रीय अध्यक्ष किरण ढकालले औषधि पसल चलाउन अनिवार्य फार्मेसी लाइसेन्स अन्यको नाममा लिएर सञ्चालन गर्ने गलत प्रवृत्ति हटाउन आफूहरू प्रतिबद्ध रहेको बताए। उनले नियमन र अनुगमन कडाइका साथ अगाडि बढाउनुपर्ने बताए।

संघका महासचिव युवराज भुसालले औषधि हुने सबै ठाउँमा फर्मासिष्ट हुनैपर्ने बताए। उनले फर्मासिष्टले नाफा भन्दा जनताको सेवा प्राथमिकता दिनुपर्ने धारणा राखे।

नेपाल फार्मेसी संघका अध्यक्ष गणेश सेढाईले पनि सबै पालिकामा अनिवार्य रूपमा फर्मासिष्ट राख्नुपर्ने माग राख्दै संघले संघीय सरकारसँग पहल गर्नुपर्ने बताए। उनले जिल्लास्तरीय शाखाहरूको राय सुझाव लिएर अगाडि बढ्नुपर्ने उल्लेख गरे। साथै, अवैध रूपमा सञ्चालन भइरहेका औषधि पसलहरूले दर्ता भएका पसललाई असर पारेकाले कडाइका साथ निगरानी आवश्यक भएको बताए।

कार्यक्रममा अन्य वक्ताहरू— औषधि व्यवसायी संघका पूर्व उपाध्यक्ष सुनिल श्रेष्ठ, संघका केन्द्रीय सदस्य ध्रुवकुमार शर्मा, उपाध्यक्ष नारायण थापा, मायाँदेवी टेक्निकल कलेजका निर्देशक चिरञ्जिवी जोशी, लुम्बिनी प्रदेश अध्यक्ष गोविन्दप्रसाद तिवारी, कपिलबस्तु अध्यक्ष डा. बिक्रम घिमिरे, उपाध्यक्ष चोकलाल सापकोटा, सचिव उदयबहादुर खत्री लगायतले फर्मासिष्टको भूमिकाबारे धारणा राखे।

कार्यक्रममा संघको संस्थागत विकासमा योगदान पुर्‍याएका सल्लाहकार तथा पदाधिकारीहरूलाई सम्मान पनि गरिएको थियो।

You may also like

This will close in 0 seconds