काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले नीति तथा कार्यक्रम यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्ताबेज रहेको टिप्पणी गरेका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद ढकालले नीति तथा कार्यक्रमलाई अकर्मन्यतालाई स्वीकृति प्रदान गर्ने कर्मकाण्डी भएको प्रक्रिया बताए ।
‘५६ पेजको नीति तथा कार्यक्रमको यो दस्ताबेज यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्ताबेज हो । यो दस्ताबेज अकर्मन्यतालाई स्वीकृति प्रदान गर्न कर्मकाण्डी प्रक्रियामा प्रस्तुत भएको दस्ताबेज हो,’ उनले भने । विगतका नीति तथा कार्यक्रमका बुँदाहरू उल्लेख गर्दै ढकालले थपे, ‘विगतलाई उत्खनन गरेर यी नीतिहरूको विश्लेषण गर्ने हो भने २०७३ सालको नीति तथा कार्यक्रमको बुँदा नम्बरर १२ मा के लेखिएको रहेछ भने– मुख्य खाद्यवस्तुहरूमा दुई वर्षमै आत्मनिर्भर हुने गरी कृषिमा लगानी बढाइनेछ ।’