बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणले नेपालका विश्वविद्यालय तथा क्याम्पसहरूलाई गुणस्तरीय र अन्तर्राष्ट्रियकरणतर्फ उन्मुख गराउँदै विदेशी विद्यार्थीलाई पनि आकर्षण गर्न सक्ने बनाउनु पर्ने आवश्यकता औंल्याउनुभएको छ । उहाँले नेपालमा पढ्न इच्छुक विदेशी विद्यार्थीहरूलाई छात्रवृत्तिको अवसर प्रदान गरेर उच्च शिक्षामा नेपाललाई अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा उभ्याउन सकिने धारणा राख्नुभएको हो ।
शनिबार बुटवलस्थित सिद्धार्थ गौतमबुद्ध क्याम्पसको क्याम्पस सभा (अधिवेशन) को उद्घाटन गर्दै पूर्वमन्त्री खाँणले शिक्षाको वर्तमान स्वरूपमा आमूल परिवर्तन आवश्यक रहेको भन्दै त्यसका लागि दीर्घकालीन सोचका साथ नीति निर्माण तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “नेपालका विश्वविद्यालय तथा क्याम्पसहरूले अब आन्तरिक माग मात्र होइन, बाह्य अवसर पनि हेरेर योजना बनाउनुपर्छ । विदेशी विद्यार्थीलाई लक्षित गरेर बनाइने शैक्षिक कार्यक्रम, छात्रवृत्ति र पूर्वाधारले नेपालको शैक्षिक प्रतिष्ठालाई फरक ढंगले प्रस्तुत गर्न सक्नेछ ।”
पूर्वमन्त्री खाँणले अहिलेको शिक्षालाई रोजगारीसँग जोडेर समग्र युवा जनशक्तिलाई देशभित्रै सक्षम बनाउने खालको नीति आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले अधिकांश युवा विदेश जानुपर्ने बाध्यताको जड शिक्षा नीति नै भएकाले त्यसमा सुधार गरी ‘पढ्दै–कमाउँदै’ सकिने वातावरण सिर्जना गर्नु जरुरी रहेको धारणा राख्नुभयो ।
उहाँले भने, “हामीकहाँ युवाहरूको ठूलो संख्या विदेश जानु बाध्य छन्, किनभने यहाँ उनीहरूका लागि न त पर्याप्त अवसर छन् न त अभ्यासमै आधारित शिक्षा प्रणाली । यदि हामीले उनीहरूलाई देशमै रोक्न सक्ने नीति ल्यायौं भने, देशको मानव संसाधन विदेश पलायन हुने क्रम रोकिन सक्छ ।”
शिक्षालाई सीप, उद्यमशीलता, रोजगारी, सूचना प्रविधि, पर्यटन र अनुसन्धानसँग जोड्दै समसामयिक मागअनुसार पुनः परिकल्पना गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले पछिल्लो समय शिक्षाको गुणस्तरप्रति उठ्ने प्रश्न र युवाको पलायनलाई जोडेर नीति निर्माता, शिक्षा संस्था र निजी क्षेत्र सबै मिलेर दीर्घकालीन समाधानको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।
पूर्वगृहमन्त्री खाँणले अहिले विश्वभरका विश्वविद्यालयहरूमा अन्तर्राष्ट्रिय विद्यार्थीका लागि छुट्टै नीति, छात्रवृत्ति र आकर्षक वातावरण तयार गर्ने प्रचलन रहेको उल्लेख गर्दै नेपालका क्याम्पसहरूमा पनि त्यसअनुरूप नीति निर्माण गर्नुपर्ने बताउनुभयो । उहाँले भने, “हाम्रो क्याम्पसहरूमा भौतिक पूर्वाधार, जनशक्ति र ऐतिहासिकता छ । अब आवश्यक छ अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम ल्याएर विदेशी विद्यार्थीलाई पढ्नका लागि आकर्षित गर्ने प्रयास गर्नु ।”
उहाँले उदाहरण दिँदै भने, “अहिले भारत, चीन, बंगलादेश, जापान लगायत देशहरूमा नेपाली विद्यार्थी छात्रवृत्तिमा पढ्न गएका छन् । यदि हामीले पनि विदेशी विद्यार्थीका लागि त्यस्तै अवसर निर्माण गर्न सक्यौं भने, नेपालमा शैक्षिक पर्यटनसमेत बढ्नेछ, विदेशी मुद्रा भित्रिनेछ र क्याम्पसको आर्थिक स्रोत पनि बलियो हुनेछ ।”
स्थानीय तहको साथ र पहिचानको आवश्यकता
त्यस अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले सिद्धार्थ गौतमबुद्ध क्याम्पसको स्थापना पृथक पहिचानसहित गरिएको बताउँदै स्थानीय सरकारले यसलाई उदाहरणीय क्याम्पस बनाउनेतर्फ आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “बुटवलमा पहिले नै बहुमुखी र वाणिज्य क्याम्पस छन् । ती भन्दा फरक पहिचान बनाउन सकियो भने यो क्याम्पसले क्षेत्रीय मात्र होइन, राष्ट्रिय स्तरमा प्रभाव पार्न सक्छ । स्थानीय सरकारको तर्फबाट हामी यथासम्भव सहकार्य गर्न तयार छौं ।”
नगरप्रमुख पाण्डेयले स्थानीय स्तरमा उच्च शिक्षामा नवप्रवर्तन र गुणस्तर सुधारका लागि स्थानीय सरकारको भूमिका अझ स्पष्ट बनाउनुपर्ने पनि औंल्याउनुभयो । उहाँले क्याम्पसमा उद्योग, व्यवसाय, प्रविधि, कृषि र पर्यटनसँग जोडिएका विषयहरू समावेश गर्न सुझाव दिनुभयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष निर्मलप्रसाद लाकौलले कार्यक्रममा बोल्दै क्याम्पसलाई गुणस्तरीय, प्रतिस्पर्धी र आधुनिक शिक्षाको केन्द्र बनाउने संकल्प व्यक्त गर्नुभयो । उहाँले प्राप्त भएका सबै सुझावहरूलाई समेट्दै नयाँ शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिनुभयो ।
उहाँले , “सामुदायिक क्याम्पसका रूपमा हामीले समुदायको विश्वास जित्नुपर्ने चुनौती छ । त्यसका लागि शिक्षण, पूर्वाधार, प्रशासन र पाठ्यक्रम सबैमा सुधार आवश्यक छ । हामी विद्यार्थीको मागअनुसार लचकदार र व्यवहारिक कार्यक्रम ल्याउनेछौं ।”
त्यस्तै क्याम्पस समितिका पदेन सदस्य तथा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले शिक्षा र उद्योगबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै क्याम्पसले बजारको मागअनुसार कार्यक्रम सञ्चालन गरे संघले प्राविधिक, प्रशिक्षण तथा रोजगारसँग सम्बन्धित गतिविधिमा प्रत्यक्ष सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा क्याम्पसका उपाध्यक्ष तथा पूर्व प्रमुख कृष्णलाल जोशी, हालका प्रमुख गोपालप्रसाद चापागाई, पब्लिक क्याम्पस प्राध्यापक संघका रामनाथ उपाध्याय, पब्लिक क्याम्पस कर्मचारी संघका ओमभद्र गौतम लगायतले धारणा राख्दै सामुदायिक क्याम्पसको सुदृढीकरणका लागि सबै पक्षले जिम्मेवारीपूर्वक भूमिका खेल्नुपर्ने बताए ।
उनीहरूले नेपालमा शिक्षा क्षेत्र विगत केही वर्षदेखि संक्रमणमा रहेकाले त्यसलाई स्थायीत्व, गुणस्तर र नवीनताको दिशामा अघि बढाउन विद्यार्थी, शिक्षक, अभिभावक, सरकार तथा निजी क्षेत्र सबैको सहभागिता अपरिहार्य रहेको उल्लेख गरे ।
लाकौल पुनः अध्यक्षमा निर्वाचित
उक्त अधिवेशनबाट निर्मल लाकौल पुनः क्याम्पस सञ्चालक समितिको अध्यक्षमा सर्वसम्मत निर्वाचित हुनुभएको छ । क्याम्पस प्रमुख गोपालप्रसाद चापागाईका अनुसार लाकौलको अध्यक्षतामा नयाँ सञ्चालक समिति पनि सर्वसम्मत रूपमा चयन गरिएको हो । उहाँले नयाँ नेतृत्वबाट क्याम्पसमा सुधार र प्रगतिका कार्यक्रम सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
लाकौल यसअघि पनि क्याम्पस व्यवस्थापन समितिको अध्यक्षको रूपमा कार्यरत रहिसक्नुभएको थियो । उहाँको नेतृत्वमा क्याम्पसले शैक्षिक तथा भौतिक पूर्वाधारको विकासमा केही महत्वपूर्ण कामहरू अगाडि बढाएको उल्लेख गरिँदै, अबका दिनमा अझ मजबुत कार्ययोजना ल्याइने अपेक्षा गरिएको छ ।