काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबीच बुधबार राति भएको ९ बुँदे सहमतिमा आफूहरूको माग सम्बोधन नभएको भन्दै विद्यालय कर्मचारी आन्दोलनलाई निरन्तरता दिने भएका छन्। बुधबार शिक्षा मन्त्रालयमा भएको ९ बुँदे सहमतिलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि २९ दिनदेखि जारी शिक्षक आन्दोलन स्थगित भएको थियो । तर, विद्यालय कर्मचारी परिषद्का अध्यक्ष गंगाराम तिवारीले शिक्षकमा पनि स्थायीको मात्र माग सम्बोधन भएको बताए।
‘विद्यालय कर्मचारीको विषयमा के–के भयो ? सरकारबाट के–के पाए ? विद्यालय कर्मचारीको विषयमा के–के भयो ? के के सुविधा थप भयो ? नेपाल सरकारले तोके बमोजिम हुने भनेर कर्मचारीहरूको सेवा सुविधा थपियो ?’, तिवारीले भने, ‘सञ्चित बिरामी बिदा अरुको हुने, हाम्रो नहुने ? एक दिन बिदा नहुने हाम्रो ?, हिसाब किताब राख्ने हामी तर बिदाको सवालमा हामीलाई बेवास्ता गरियो । आज समीक्षा गर्न बोलाइयो । तर, हामीले हिजो सहमतिका कुरामा विरोध गर्न खोजेपछि महासंघका साथीहरू समापन गर्नतिर लाग्नुभयो र समीक्षा गर्न नखोजिएपछि हामीले आपत्ति जनायौं।’
सबैको माग सम्बोधन नभएको भन्दै स्थायीय बाहेक, राहत, ईसीडी, विद्यालय कर्मचारीको कुरा नसुनिएको भन्दै उनले आजै ७ बजे बैठक बसेर थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने जानकारी दिए। नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा बसेको आकस्मिक बैठकले आजै साँझ ७ बजे आन्दोलनका नयाँ कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको हो । ‘हामी आजै साँझ ७ बजे आन्दोलनका थप कार्यक्रम घोषणा गर्छौं,’ तिवारीले भने, ‘महासंघले हामीसँग भएको सहमति विपरित सरकारसँग सम्झौता गर्यो । यसमा हाम्रो विमत्ति छ।’