बुटवलमा रगतको अभाव, बिरामीहरू संकटमा, संघसंस्थाको आकस्मिक पहलले दिएको केही राहत

Shares

बुटवल । बुटवलमा पछिल्ला केही सातायता रगतको गम्भीर अभाव देखिएको छ। दैनिक १२० युनिटभन्दा बढी रगतको आवश्यकता पर्न थालेको छ तर त्यति मात्रामा रगत संकलन हुन नसक्दा बिरामीहरू उपचार नपाएर हैरान भएका छन्। बुटवलस्थित रक्त सञ्चार केन्द्रमा दैनिकजसो रगत खोज्दै आउने बिरामीका आफन्तहरूको चाप बढ्दो छ। उनीहरू घण्टौँ कुर्दा पनि रगत नपाउँदा तनावमा पर्ने गरेका छन्।

अर्घाखाँचीको धारापानीका सुशील पौडेल पाल्पास्थित लुम्बिनी मेडिकल कलेजमा उपचारत छन्। उनलाई रगत आवश्यक परेपछि उनका आफन्त रमेश पौडेल बुटवल आएका हुन्। रमेशले भने, “ब्लड बैंकमै गएर पनि रगत पाइँदैन भन्ने थाहा पाउँदा झनै डर लाग्यो।”

यस्तै बुटवलमै बसोबास गर्ने जितेन्द्र राना आफ्नी आमाको खुट्टाको अपरेसनका लागि रगत लिन रक्त सञ्चार केन्द्र आइपुगेका थिए। उनी भन्छन्, “हामीलाई अपरेसनको मिति दिँदा रगत चाहिन्छ भनेका थिए, तर यति गाह्रो होला भन्ने लागेको थिएन।” चौडाहा अस्पतालमा उपचार गराइरहेकी आमाको लागि शिव अधिकारी रामापुर, सैनामैनाबाट आएका छन्। त्यस्तै योगिकुटीका तुलानन्द ढकाल मुटु सम्बन्धी समस्या र डायलासिसका कारण बारम्बार ब्लड बैंक धाउनु पर्छ। उनीजस्ता बिरामीको लागि नियमित रगत चाहिन्छ।

नेपाल स्वयंसेवी रक्तदाता समाज रूपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्रीका अनुसार बुटवलमा दैनिक १२० युनिट रगतको खपत हुन्छ। त्यसमध्ये मात्र ४०–५० युनिटजति डायलासिस गरिरहेका बिरामीहरूका लागि जान्छ।

बाँकी आवश्यकता दुर्घटनामा परेका, अपरेशन गर्न लागेका, गर्भवती महिला, रक्तअल्पता भएका बिरामीलाई हुन्छ। अहिले संघसंस्थाहरूले सञ्चालन गर्ने रक्तदान कार्यक्रमबाट दैनिक ४०–५० युनिट मात्र रगत संकलन भइरहेको छ। बाँकी ७०–८० युनिटको व्यवस्था नहुँदा नियमित रगतको आपूर्ति सम्भव छैन। यस्तो अवस्थामा बिरामीको जीवन संकटमा पर्न थालेको छ। यस्तो संकटपूर्ण समयमा बुटवलका विभिन्न संघसंस्थाहरूले आकस्मिक रक्तदान कार्यक्रमको आयोजना गरेका छन्। यस्ता कार्यक्रमबाट केही मात्रामा राहत भएको छ। तर यो दीर्घकालीन समाधान होइन। रगतको नियमित आपूर्ति हुनु भनेको आपतकालीन अवस्थामा जोगिनका लागि पनि अत्यावश्यक हुन्छ।

कृष्ण चौहान भन्छन्, “रक्तदान कार्यक्रमले केही राहत दिन्छ, तर यसले दैनिक अभाव पूर्ति गर्न सक्दैन। दीर्घकालीन समाधान भनेको नागरिक स्वयं ९०–९० दिनमा ब्लड बैंक पुगेर रगत दिनु हो।” अध्यक्ष चौहान भन्छन्, “१७ वर्षदेखि ६५ वर्ष उमेरसम्मका स्वस्थ व्यक्तिहरूले नियमित रक्तदान गर्ने बानी बसाल्न सके मात्रै यो संकट अन्त्य हुन्छ। अहिले धेरैले रक्तदान विशेष कार्यक्रम परेपछि वा आफन्त बिरामी परेपछि मात्र गर्छन्।” उनी भन्छन्, “रगत अभाव हरेक दिन देखिन्छ। त्यो समयमै बुझेर तयारी नगर्ने हो भने सबैले समस्या भोग्नुपर्छ।” चौहानले नेपाल रेडक्रस सोसाइटीको भूमिका प्रति गम्भीर प्रश्न उठाएका छन्। उनका अनुसार रेडक्रसले रक्त सञ्चार केन्द्रको जिम्मेवारी त लिएको छ तर व्यवस्थापनको स्तर अत्यन्तै कमजोर छ।

उनी भन्छन्, “रेडक्रसले ब्लड छ भने छ, छैन भने छैन भनेर मात्रै बस्छ। तर त्यो अभाव पूर्ति गर्न के गर्ने भन्ने रणनीति छैन।” उनले रेडक्रस संस्थालाई मात्र दोष दिन मिल्दैन भने पनि रगत व्यवस्थापनको मुख्य जिम्मेवारी उनीहरूसँग भएकाले उनीहरूले अग्रसरता देखाउनुपर्ने बताउँछन्। अहिले रेडक्रसले रक्तदाता खोज्ने काम गर्दैन। त्यो काम स्वयंसेवी संघसंस्थाले गरिरहेका छन्। ती संघसंस्थाहरूले रक्तदान कार्यक्रम गरेर रगत ल्याउँछन्, रेडक्रसले संकलन गर्छ। रूपन्देहीमा मात्रै झन्डै ४–५ सयजति स्वयंसेवी संस्था छन्।

ती सबै संस्था सक्रिय रुपमा रक्तदान कार्यक्रम गरिरहेका छन्। रेडक्रसको रक्त सञ्चार केन्द्रमा पुग्ने अधिकांश रगत त्यही संस्थाबाट आउने हो। चौहान भन्छन्, “यी संघसंस्थाले रक्तदान गर्न छोडे भने रेडक्रस स्वतः बन्द हुन्छ। राज्यले अब या त रेडक्रसलाई जिम्मेवार बनाउने, या संघसंस्थालाई ब्लड बैंक सञ्चालनको अनुमति दिने निर्णय गर्नुपर्छ।” नेपाल स्वयंसेवी रक्तदाता समाजले बुटवलमै वैकल्पिक ब्लड बैंक खोल्न चाहेको बताउँदै अध्यक्ष चौहान भन्छन्, “हामीसँग स्वयंसेवी रक्तदाताको समूह छ, हामी आफैंले ब्लड बैंक सञ्चालन गर्न तयार छौं। तर ब्लड बैंक सञ्चालनको अनुमति दिने निकाय भनेको रेडक्रस होइन, स्वास्थ्य मन्त्रालय हो। तर मन्त्रालयले अहिलेसम्म प्रक्रिया अगाडि बढाएको छैन।”

उनी भन्छन्, “हामीले लुम्बिनी प्रादेशिक अस्पतालमा पनि ब्लड बैंक खोल्न माग गरेका छौं। मेडिकल सुपरिटेन्डेन्टलाई ज्ञापनपत्र बुझाएका छौं। तर अहिलेसम्म कुनै पहल भएको छैन। आमदा अस्पतालमा पनि ब्लड बैंकको लागि पहल गरिएको हो, तर त्यहाँ पनि सफलता मिलेको छैन।” रक्त सञ्चारको लागि सरकारको नीति अस्पष्ट भएको चौहानको आरोप छ। उनी भन्छन्, “यदि सरकार वा स्वास्थ्य मन्त्रालय चाहन्छ भने हामीले ब्लड बैंक सञ्चालन गरेर देखाइदिन्छौं, अभाव नहुने गरी। तर हामीलाई कहिल्यै अनुमति दिइँदैन।

” उनका अनुसार अहिले बुटवलमा देखिएको रक्त संकटको समाधान भनेकै नागरिक चेतना हो। नियमित रक्तदान संस्कृति विकास गर्न सके मात्र यो समस्या समाधान हुन्छ। उनले भने, “हामी सबैको सानो प्रयासले कसैको जीवन बच्न सक्छ। समय आएपछि रक्तदान गर्नु होइन, समय आउन नदिनु हो साँचो उपाय।” बुटवलमा पछिल्ला दिनमा भएका आकस्मिक रक्तदान कार्यक्रमहरूले केही राहत दिएका छन्।

संघसंस्थाहरूले गरेको पहल प्रसंसनीय छ, तर यो समस्या समाधान गर्न अझ धेरै जनचेतना र नीतिगत परिवर्तन आवश्यक छ। रगत भनेको कुनै सामान होइन, जुन बजारबाट किनिन्छ। यो हामी नागरिकबाट आउने मानवताको उपहार हो। सरकारले अब रेडक्रसलाई मात्रै भर नपरी रक्त व्यवस्थापनको वैकल्पिक संरचना बनाउने, संघसंस्थासँग सहकार्य गर्ने, ब्लड बैंक खोल्न चाहने संस्थालाई सहयोग गर्ने र नियमित रक्तदाता प्रणालीलाई प्रोत्साहन गर्ने नीतिहरू ल्याउनुपर्छ। अन्ततः रगतको अभाव भनेको केवल स्वास्थ्यको समस्या होइन, यो हाम्रो चेतनाको अभाव पनि हो। यसलाई सच्याउन सबैले आफ्नो जिम्मेवारी लिनु पर्ने समय आएको छ।

You may also like