जितगढी विजय उत्सव आज, अंग्रेज सेनामाथि नेपाली विजयको गौरवगाथा

Shares

बुटवल। नेपाल–अंग्रेज युद्धमा नेपाली फौजले विजय हासिल गरेको ऐतिहासिक दिनको सम्झनामा आज रुपन्देहीको जितगढी किल्लामा ‘जितगढी विजय उत्सव’ मनाइँदैछ।

वि.सं. १८७२ वैशाख ७ गते कर्णेल उजिरसिंह थापाको नेतृत्वमा नेपाली सेनाले अंग्रेज फौजमाथि विजय प्राप्त गरेको स्मरणमा प्रत्येक वर्ष जस्तो आज पनि यो उत्सव मनाइँदैछ। यस अवसरमा गोरखा दरबारबाट सुरु भएको गोरखा–जितगढी पदयात्रा समापन समारोह, राष्ट्रिय झण्डोत्तोलन, नेपाली सेनाको स्वागत तथा साँझ सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

बिहान ९ बजे बुटवलको अस्पताल चोकमा राष्ट्रिय झण्डोत्तलन कार्यक्रम हुनेछ भने १० बजे बुटवल–१ स्थित गणेश मन्दिरमा गोरखाबाट आएका नेपाली सेनाको टोलीलाई स्वागत गरिनेछ। त्यसपछि ११ बजे ऐतिहासिक जितगढी किल्लामा मुख्य समारोह आयोजना हुनेछ। साँझ ६ बजेबाट सांस्कृतिक कार्यक्रम संचालन गरिने बुटवल उपमहानगर प्रमुख खेलराज पाण्डेयले जानकारी दिए।

अंग्रेज–गोर्खा युद्धको ऐतिहासिक केन्द्र रहेको जितगढी किल्लामा कर्णेल उजिरसिंह थापाले १८ वर्षको उमेरमा रण कौशल र वीरता प्रदर्शन गर्दै अंग्रेज फौजलाई परास्त गरेका थिए। बुटवल क्षेत्रको सुरक्षाका लागि बनाइएको यो किल्ला हाल राष्ट्रिय स्वाभिमानको प्रतीक बनेको छ।

जनरल जोन सुलिभान उड नेतृत्वको अंग्रेज फौजसँगको घमासान लडाइँमा नेपाली सेनाले घेराबन्दी, घरेलु हतियार, र रणकौशल प्रयोग गरी विजयी भएको थियो। युद्धमा सरदार सूर्य थापा, जमदार भीमसेन देउजा, हवल्दार रणसुर वानियासहित करिब ५०० जना गोर्खाली वीरले वीरगति प्राप्त गरेका थिए।

पूर्व–पश्चिम २०५ फिट लम्बाइ, ५५ फिट चौडाइमा फैलिएको जितगढी किल्ला ईटा र सुर्खीको प्रयोगबाट बनेको हो। अर्धगोलाकार बुर्जाहरुमा तोप र बन्दुक प्रहारका लागि विशेष डिजाइन गरिएको छ। यो किल्ला नालापानी, देउथल, बल्ड्याङ गढी जस्ता ऐतिहासिक स्थलहरुसँग साम्य देखिन्छ।

इतिहासविद् डा. तेजबहादुर श्रेष्ठका अनुसार, बेलायतको संग्राहलयमा भेटिएको दस्तावेजपछि मात्र जीतगढीको युद्धबारे गहिरो अध्ययन सुरु भएको हो। यदि जितगढी जस्तै ऐतिहासिक स्थलहरूको संरक्षण र प्रचारप्रसार गर्न सकिएमा बुटवल क्षेत्र सांस्कृतिक पर्यटनको प्रमुख गन्तव्य बन्ने सम्भावना छ।

You may also like