बुटवल।सवारी दुर्घटनापछि चालक र मजदुरहरूलाई ठूला आर्थिक समस्याबाट जोगाउन यातायात मजदुर तथा व्यवसायी भलाई कोषले ठूलो सहयोग गरिरहेको सरोकारवालाहरूले बताएका छन्।
कोषको ५१ औं स्थापना दिवस र ४६ औं वार्षिक साधारणसभाको अवसरमा आयोजित कार्यक्रममा बोल्ने वक्ताहरूले कोषले दुर्घटनामा परेका मानिसहरूलाई समयमै सहयोग गरेर समाजमा सकारात्मक प्रभाव पारेको बताएका हुन्।
कार्यक्रम उद्घाटन गर्दै कोषका पूर्वअध्यक्ष तथा भूमि समस्या समाधान आयोग रुपन्देहीका अध्यक्ष कुमार थापाले यो कोष पुराना अग्रजहरूको सोच र पहलमा सुरु भएको बताए। उनले सवारी दुर्घटनापछि मजदुरलाई पर्ने कानुनी, आर्थिक र मानसिक समस्यालाई समाधान गर्न कोषले ठूलो भूमिका खेलेको बताए। उनले आफ्नो कार्यकालमा कोषको विधान संशोधन गरेर व्यवसायीहरूलाई पनि समेटिएको सम्झना गरे।
त्यस्तै कोषका अध्यक्ष दिनेश फुल्लेलले कोषले देशभर २८ वटा शाखा र ६८ जना कर्मचारीमार्फत सेवा दिइरहेको जानकारी दिए। उनले पछिल्लो वर्ष ८९५ वटा सवारी दुर्घटनामा सहयोग गरिएको बताए — जसमा २४० जीवित र ६५५ मृत दुर्घटना परेका थिए।
कार्यक्रममा एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले कोषले यातायात व्यवसायी र मजदुरका लागि उदाहरणीय काम गरेको भन्दै यसले छुट्टै पहिचान बनाएको बताए।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेल, पूर्वअध्यक्ष चिनबहादुर गुरुङ लगायतले कोषले व्यवसायी र मजदुरको हितमा निरन्तर काम गरिरहेको बताए।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे, बुटवल उद्योग वाणिज्य संघका महासचिव मुक्ति अधिकारी, नेपाली कांग्रेसका जिल्ला कोषाध्यक्ष हरि अर्याल, पेट्रोलियम डिलर्स एसोसिएसनका अध्यक्ष हिमाल गैरे, उद्योग संघका उपाध्यक्ष कृष्ण पराजुली, व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष प्रकाश ढकाल लगायतले सडक दुर्घटना घटाउन तालिम र अभिमुखिकरण कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिए।
कार्यक्रममा लामो समय सेवा दिएका चालक पशुपति खरेललाई आर्थिक सहयोग प्रदान गरिएको थियो।
त्यसैगरी दुर्घटनामा ज्यान गुमाएका कृष्णलाल मरासिनीको परिवारलाई ५० हजार रुपैयाँ सहयोग गरिएको थियो।
साधारणसभाले अध्यक्ष दिनेश फुल्लेल, महासचिव योग गुरुङ र कोषाध्यक्ष प्रकाशकुमार नेपालको प्रतिवेदन पनि पारित गरेको छ।
स्थापना दिवसको अवसरमा रक्तदान, स्वास्थ्य परीक्षण जस्ता कार्यक्रमहरू पनि गरिएको थियो। रक्तदान कार्यक्रममा ७६ जनाले रगत दिएका थिए भने मधुमेह परीक्षण पनि गरिएको थियो।