आठ महिनामा १० खर्ब ५१ अर्बभन्दा बढी विप्रेषण भित्रियो

Shares

चालु आर्थिक वर्ष २०८१/८२ को आठ महिनामा नेपालमा १० खर्ब ५१ अर्ब ७७ करोड रुपैयाँभन्दा बढी विप्रेषण (विदेशबाट पठाइने पैसा) भित्रिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदन अनुसार यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ९.४ प्रतिशतले बढेको हो।

राष्ट्र बैंकका अनुसार यस अवधिमा वैदेशिक रोजगारीका लागि तीन लाख १७ हजार ६८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका छन् भने दुई लाख १७ हजार ४०३ जनाले पुनः श्रम स्वीकृति पाएका छन्।

त्यसैगरी, देशमा यस अवधिमा कुल “खुद द्वितीय आय” (विदेशबाट प्राप्त अनुदान, विप्रेषण लगायतका रकम) ११ खर्ब ४८ अर्ब १२ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकले चालु खाता (देशको कुल आय–व्यय हिसाब)मा एक खर्ब ८० अर्ब ८ करोड रुपैयाँ बचत भएको पनि जनाएको छ। प्रत्यक्ष वैदेशिक लगानी (FDI) भने आठ अर्ब ४९ करोड रुपैयाँ मात्र भित्रिएको छ।

शोधनान्तर स्थिति (देशको कुल भुक्तानी सन्तुलन) फागुन मसान्तसम्ममा तीन खर्ब १० अर्ब ३७ करोड रुपैयाँले बचतमा रहेको छ। अघिल्लो वर्ष यो रकम तीन खर्ब २७ अर्ब ५५ करोड रुपैयाँ थियो।

विदेशी मुद्रा सञ्चिति पनि उल्लेख्य रूपमा बढेको छ। गत असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ रहेको सञ्चिति अहिले १८ प्रतिशतले बढेर २४ खर्ब ०९ अर्ब २५ करोड पुगेको छ।
नेपाल राष्ट्र बैंकसँग २१ खर्ब ३० अर्ब ३१ करोड रुपैयाँ र अन्य बैंक तथा वित्तीय संस्थासँग दुई खर्ब ७८ अर्ब ९५ करोड रुपैयाँ बराबरको विदेशी मुद्रा सञ्चिति रहेको छ।

राष्ट्र बैंकका अनुसार हालको विदेशी सञ्चितिले १७.२ महिनाको वस्तु आयात र १४.३ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्नेछ।

You may also like

skip


This will close in 5 seconds