यू–१४ टी–२० क्रिकेट: स्टार लगातार तेस्रो जितमा अपराजित, विश्व स्कुलको पहिलो सफलता

Shares

बुटवल। बुटवलमा जारी यू–१४ टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो दिन स्टार क्रिकेट एकेडेमी अपराजित रहँदै लगातार तेस्रो जित हात पार्न सफल भएको छ भने विश्व स्कुलले प्रतियोगितामा आफ्नो पहिलो जित दर्ता गरेको छ।

वेस्टर्न क्रिकेट क्लब बुटवलको आयोजनामा तथा बुटवल उपमहानगरपालिकाको सहयोगमा भएको पहिलो खेलमा स्टार क्रिकेट एकेडेमीले वेस्टर्न क्रिकेट क्लबलाई १० विकेटले पराजित गर्‍यो।

टस जितेर ब्याटिङ गरेको वेस्टर्नले १४.३ ओभरमा सबै विकेट गुमाउँदै मात्र ४२ रन बनायो। बिराट नेपालीले सबैभन्दा धेरै १३ रन बनाए भने अन्य ब्याट्सम्यान दोहोरो अंकमा पुग्न सकेनन्।
स्टारका अब्राहम अली र आरुष अधिकारीले समान ४–४ विकेट लिए।
जवाफमा स्टारले ३.३ ओभरमै बिना विकेट गुमाई लक्ष्य पूरा गर्‍यो। अब्राहमले १३ बलमा ३१ रन र आरुषले ८ बलमा ७ रन बनाए।
अब्राहम अलीलाई प्लेयर अफ द म्याच घोषित गरियो।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको रुपन्देही क्रिकेट एकेडेमीले २० ओभरमा ९ विकेट गुमाएर ८१ रन बनायो।
सत्यम हरिजनले नटआउट १६ रन, भानुभक्त पाण्डेले १५ रन, र सामो एमडी खानले ११ रन बनाए।
विश्व स्कुलका एन्जी पाठकले २ विकेट लिए।
लक्ष्य पछ्याउँदै विश्व स्कुलले १४.१ ओभरमा ३ विकेट गुमाएर जित हासिल गर्‍यो। ओपनर ओजस पराजुली १० रनमा आउट भए भने एन्जी पाठक शून्यमा पेवेलियन फर्किए।
तर, सुशान्त सुवेदी (११ रन) र नबिन पाण्डेय (१८ रन) ले टिमलाई जितसम्म पुर्‍याए।
खेलमा एन्जी पाठक प्लेयर अफ द म्याच घोषित भए।

क्लबका अध्यक्ष भुवन पाण्डेका अनुसार प्रतियोगितामा १२ टोली सहभागी छन्, जसलाई दुई समूहमा विभाजन गरिएको छ। राउन्ड रोबिनको आधारमा खेलाएर समूहका शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।
विजेता टोलीले नगद ४१ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले २१ हजार नगद पाउनेछ।
त्यस्तै, उत्कृष्ट ब्याट्सम्यानलाई २५०० रुपैयाँ र सर्वोत्कृष्ट खेलाडीलाई ५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिनेछ।

You may also like